काठमाण्डाै – नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध निर्वाचन लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन्।
बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात सुई चिन्ह पाएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
‘मैले सोचेर नै सुई चुनाव चिह्न लिएको हुँ,’ चुनाव चिह्न पाएपछि ढकालले भने, ‘देश बिरामी छ, अब सुई लगाउनु पर्छ। देशलाई अब एक डाक्टरको खाँचो छ भनेर साङ्केतिक रूपमा उक्त चिह्न लिएको हुँ।’
उनले अब राजनीतिमा पनि सुइँको आवश्यकता रहेको बताए। ढकालले भने, ‘अब शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड लगायतका नेतालाई सुई लगाउनु पर्यो। डडेल्धुराका जनताले पनि देउवालाई सुई लगाइदिन्छन्।’
यो पनि
काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले आउँदाे हप्तासम्म मौसमी वर्षा रहिरहने पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले याे जानकारी दिनुभएकाे हाे ।
आज बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वरिष्ठ माैसमविद् रेग्मीले त्यसका लागि विभागले मौसमी प्रणालीकाे निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताउनुभयो ।
वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षा सकिए पनि जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पार्नुभयो । वर्षा सकिए पनि त्यसको जोखिम भने कायमै रहन सक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘मनसुन अहिले तत्कालै, आज/भोलि नै बाहिरिने सम्भावना छैन । सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ । हामीले माैसमी प्रणालीकाे अनुगमन गरिराखेका छौँ । मनसुनी वर्षा सकिएपछि पनि माैसमी गतिविधि रहिरहन सक्छ ।’
विभागले आउँदाे हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भन्नेबारे हिउँदयाम सुरु हुनुअघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले आउँदाे हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागले मौसमी अवस्थाबारे २४ घण्टा नै सेवा दिइरहेकाे छ ।
