काठमाडाैँ- कालिकाेटमा बम विस्फाेट हुँदा एक जनाकाे मृ त्यु भएकाे छ भने चार जना गम्भीर घाइते भएका छन्।
तिलागुफा नगरपालिका-१० रानावाडामा विस्फाेट हुँदा ४ वर्षीया झरना थापाको मृ त्यु भएकाे प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।
घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ।
गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन्।
नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएकाे उनको सचिवालयले जनाएको छ।
गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।
घटना आज बिहान ८ बजेको हो। बच्चा खेल्न जाने क्रममा उनीहरूले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताए। उनका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ।
नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।
प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ। स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताए।
