काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाका नेता राजेन्द्र श्रेष्ठ काठमाडौं ७ बाट उम्मेदवार बनेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ उम्मेदवार रहेका श्रेष्ठले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
जनतामाझ मत माग्दै गर्दा श्रेष्ठले आफ्नो प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् ।
यी हुन श्रेष्ठका प्रतिबद्धताहरु
१. देशमा समुन्नत सङ्घीय शासन प्रणालीसहितको समाजवाद स्थापना गर्न ।
२. जनताको पक्षमा संसदमा आवाज घन्काउन र ऐन कानुनहरू निर्माण गर्न ।
३. प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद स्थापना गर्न ।
४. निर्वाचन क्षेत्रको विकासको निरन्तरता तथा समतामुलक समृद्धिको जनआकाङ्क्षा पूरा गर्न ।
५. आधारभूत शिक्षा र स्वास्थ्यलार्ई स्तरीय र सर्वसुलभ बनाई सबैको पहुँच स्थापित गर्न ।
६. राज्य, समुदाय र निजी क्षेत्रको सहकार्यात्मक भूमिकाको आधारमा समाजवादी वजार अर्थतन्त्रको विकास गर्न ।
७. उद्योगधन्दा, कृषि, पर्यटन, सहकारी आदिको माध्यमबाट उद्यमशीलता विकास गरी रोजगारीको अवसर सृजना गर्न ।
८. ‘पाँच ज’– जल, जमीन, जङ्गल, जडिबुटी र जनशक्तिको उच्चतम सदुपयोग गरी दिगो विकासको आधार तय गर्न ।
९. देशमा विद्यमान विकृति, विसङ्गती, भ्रष्टाचार, असुरक्षा र अव्यवस्थाको अन्त्य गरी सामाजिक न्याय, सुशासन र सदाचारिता विकास गर्न ।
१०. श्रमजीवीहरूलाई क्षमता अनुसार काम र काम अनुसार पारिश्रमिकको व्यवस्था गर्न ।
११. सङ्घीयताको मर्म र भावनाअनुरूप सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकारिता, सहअस्तित्व र समन्वयको भावना विकास गराउन ।
१२. राज्यको विशेष संरचनाका रूपमा स्वायत्त, संरक्षित तथा विशेष क्षेत्रको व्यवस्था गराउन ।
१३. शिल्पी÷दलित समुदायको सम्मानजनक पहिचान स्थापित गराउन ।
१४. अनियन्त्रित सहरी विकास नियन्त्रणका लागि बैज्ञानिक भू–उपयोग नीति लागू गर्न ।
१५. गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्न ।
१६. काठमाडौँलाई फोहरमैला, धुँवा धुलो र प्रदुषणमुक्त वातावरणमैत्री साँस्कृतिक सहरको रूपमा विकास गर्न ।
१७. जैविक विविधता, प्राचीन वस्ती तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण र सम्बद्र्धनका साथै पहिचानमा आधारित पर्यटनको विकास गर्न ।
१८. जनताको जीउधनको रक्षा, हत्या, हिंसा र आतङ्कको अन्त्य तथा दिगो शान्तिको स्थापना गर्न ।
१९. विद्युतीय ट्राफिक सङ्केत, दमकल, एम्बुलेन्स, सिसिटिभिलगायत आधुनिक उपकरणहरूको व्यवस्था गरी सहरी सुरक्षाको व्यवस्था गर्न ।
२०. बाह्य हस्तक्षेपको प्रतिरोध गर्दै राष्ट्रिय एकताको रक्षा र संवद्र्धन गर्न ।
२१. जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई मर्यादित जीवनका साथै सामाजिक सुरक्षा प्रदान गर्न ।
२२. महिला तथा यौनिक अल्पसङ्ख्यकहरूलाई राज्यका सबै अङ्गहरूमा समान अधिकार दिलाउन ।
२३. युवाहरूका लागि रोजगारी, खेलकुद मैदान र कभर्ड हल तथा बालवालिकाहरूका लागि मनोरञ्जन गृह र पार्क निर्माण गर्न ।
२४. डिजीटल नेपालको अवधारणाअनुरूप सेवा प्रदायक निकायहरूलाई प्रविधीमैत्री बनाई जनतालाई छिटो छरितो सेवा प्रदान गर्न ।
२५. उपरोक्त बमोजिमका मेरा प्रतिवद्धताहरू कार्यान्वयनमा बाधक रहेका विषयहरूका लागि संविधान संशोधनको पहल गर्न ।
