आज गतेको हिसाबले असार १५। नेपाली जनजीवनमा असार १५ भन्ने बित्तिक्कै दही र चिउरासँग जोडिन्छ। किनकि यो दिन अन्य १५ गतेभन्दा विशेष दिन हो। यो दिन हरेक नेपालीहरु दही र चिउरा हर्षोल्लासका साथ सेवन गर्छन्। प्रकृतिप्रेमी किसानले फलाएको धानको चिउरासँग रसिलो दही मिसाएर खानुको मज्जा!
असार १५ भन्ने बित्तिक्कै हरियाली, खेत, आली, ब्याडको सम्झना नगर्ने प्राय : कमै हुन्छन्। यो दिनमा हिलो छुट्ने कुरै भएन। रोपार, बाउसे असारसँगै जोडिने पात्रहरु हुन्। नाम जे दिए पनि आखिर उनीहरु किसानकै फरकफरक रुप हुन्। असार १५ विशेषत : विशुद्ध किसानको अघोषित पर्व हो। पछिल्लो समयमा सरकारले यो दिनलाई विशेष रुपमा राष्ट्रिय धान दिवसको घोषणा गरेर किसानको मिहिनेत, परिश्रमको मूल्यांकन र सम्मान गर्ने प्रयास गरेको छ।
असार १५ यत्तिमै सीमित कहाँ छ र? गाउँघरमा मात्र हैन, नेपाली जनजिब्रोमा ‘असार १५!’ भन्ने उखानै छ। यथार्थमा किसानलाई जहिल्यै असार १५ अर्थात् हतारो, चटारो हुने गर्दछ। उनलाई के असार, के मंसिर, के जेठ, के चैत? सधैं, सधैं असार १५ नै छ। यसरी जहिल्यै असार १५ लाई मनमा लिएर, घाम, पानी, तुषारो, उज्यालो, अँध्यारो नभनी माटोमा भविष्य, माटोमा वर्तमान देखेका किसानको पसिना परेर माटो, बिउ मुस्कुराउने गरेको छ। यही माटो मुस्कुराउँदा बाली हराभरा हुने गरेको छ।
विकासको नाममा मनपरी डोजर चलाएर जीवनदायिनी माटोमाथि मनमोजी गर्दा किसानका कान्ला भत्किएका छन्। असारमा माटो खस्ला भनी निक्कै विवेकले कान्ला टाँस्ने किसान पूरै पहाड खस्दा कस्तो मनोदशामा होला ?
किसानले लगाएको बाली त्यतिकै हराभरा हुने गरेको छैन। त्यो हराभरा बनाउनका लागि उनले प्रायः हरेक प्रहर असार १५ लाई झेल्नुपर्छ। कृषिप्रधान देशका किसानहरु कहिले उन्नत जातको लागि बिउका लागि असार १५मा हुन्छन्, कहिले आवश्यक मलखादको लाइनका लागि असार १५ मा हुन्छन्। कम्तिमा पनि सरकारले किसानको असार १५ को मानसिकतालाई ध्यानमा राखी बैशाखमै, असोजमै, जेठमै मलखाद, सिंचाई, आधुनिक प्रविधिहरुको विकास, विभिन्न सीप, तालिमको बन्दोबस्त गर्न सकेको भए, किसानले असार १५ भोग्नुपर्दैनथ्यो। कोही नक्कली बिउ बाँड्ने संस्थाहरुको लोप्पामा परेर किसान घाइते हुनुपर्ने थिएन।
असार १५ को व्याख्या, महिमा चर्चा गर्दै गरिरहँदा, किसानकै जग्गा लिएर प्लटिङ गर्नेहरु, घरघडेरी बनाएकाहरुले दही चिउराले मुख मिठ्याउँदै गर्दा असार १५ का असली हकदार, असार १५ का असली प्रारम्भकर्ताको मुखमा दही, चिउरा पर्यो कि परेन? भन्ने प्रश्न पनि टड्कारो बनेको छ। अहिले वर्षामासको समय छ, सबैतिर बाढी, पहिरोको चिन्ता छ, कतै कतै त बाढीले, पहिरोले अकल्पनीय क्षति पुगेको छ। खेतहरु बगेका छन्, बगर बनेका छन्, कतै भने एकनाशले पानी नपर्दा अझ पनि रोपाइँका लागि आकाशकै भर नपरी भएको छैन। यस्तो बेलामा हामी असार १५ मनाइ रहेका छौं। के खेत बगेका किसानहरुका लागि, खेत रोप्न नपाएका किसानहरुका लागि असार १५ आयो त? यो पेचिलो प्रश्न हो।
अहिले बदलिएको परिस्थिति, परिवेश, देखासिकी, चाँडै कमाउने स्वभाव, उपभोक्तावादी संस्कृतिले सबैतिर गाँजेको छ। यस्तो परिवेशमा आँखै अगाडिका खेतहरु प्लटिङ बन्दा, धान फल्ने खेतहरुमा ढुंगा, बालुवा, इँटा फल्न थाल्दा, के किसान नभक्कानिकन रहन सक्छ? विकासको नाममा मनपरी डोजर चलाएर जीवनदायिनी माटोमाथि मनमोजी गर्दा किसानका कान्ला भत्किएका छन्। असारमा माटो खस्ला भनी निक्कै विवेकले कान्ला टाँस्ने किसान पूरै पहाड खस्दा कस्तो मनोदशामा होला ? हामीले योबारे सोच्ने कि नसोच्ने?
असार १५ कुनै जात विशेषले बनाएको पर्व हैन, कुनै क्षेत्र विषेशले बनाएको पर्व हैन। रोपाइँका लागि मरेको लास समेत घुमले छोपेर, असारे हिलोमा छुपुछुप धान रोप्न लालायित किसानहरुले चलाएको पर्व हो। यो समयमा किसानको व्यस्तता अरु बेला अत्यधिक हुने हुनाले वास्तवमा किसानहरुलाई खाजा खाने समय समेत कम हुन्छ। यो बेलामा किसानहरुले समयको महत्वलाई बुझेर चिउरा र घरमा पालेको गाई, भैंसीको दूधबाट बनेको दही सेवन गरी काम गर्ने दैनिकी बनाएकोमा कुनै सन्देह छैन। कालान्तरमा यही दैनिकी असार १५ को दही चिउरा बनेको हो। जसलाई हामी(खेतमा काम गर्ने होस् या नहोस्)ले सहर्ष स्वीकारेका छौं।
