नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारी ठमेलस्थित निवासमा बसेको बैठकले केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गर्ने निर्णय गरेको छ।
उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला आज सिंह निवासमा छलफलका लागि पुगेका थिए। उनीहरू तीनै जना कांग्रेस सभापतिका लागि आकांक्षी छन्।
मंगलबार करिब तीन घण्टा चलेको बैठकपछि नेता सिंहले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय भएको बताए।
‘आउँदो शुक्रबार महामन्त्री कोइरालाको निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्छौं,’ सिंहले भने।
उनकाअनुसार असार १८ गते महामन्त्री कोइरालाको निवासमा महाधिवेशन केन्द्रित छलफल केन्द्रीय सदस्यहरूसँग गर्न लागिएको हो।
आज तीन नेताबीच कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा गर्नेलगायत विषयमा छलफल भएको थियो। ‘क्रियाशील सदस्यताबारे केही विवाद छन्, प्रक्रिया पुगेकालाई क्रियाशीलबाट बञ्चित गर्न हुन्न,’ सिंहले भने।
निधि, कोइराला र सिंहबीच पटकपटक महाधिवेशन केन्द्रित बैठक भइरहेका छन्। यसअघि कोइराला र निधि निवासमा बैठक भइसकेको छ। यो बैठकपछि देशैभर कार्यकर्तामा नयाँ उत्साह देखिएको सिंहले दाबी गरे।
साथै निधि, कोइराला र सिंहले पार्टी सभापतिका उम्मेदवार भइसकेकाहरूसँग पनि बैठक गर्ने निर्णय गरेका छन्। महाधिवेशन नजिकिएकोले भेटघाट तथा छलफललाई तीव्रता दिने उनीहरूबीच सहमति छ।
