काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद् नभएको वर्तमान अवस्थामा आफू जनताको सार्वभौम अधिकारको एकमात्र प्रतिनिधि भएका कारणले जनताका हक हित र लोकतन्त्रको रक्षा कार्यमा भूमिका खेल्न प्रतिबद्ध भएको बताएका छन् ।
संसद् विघटन भएपछि सभामूखले यो संविधानको रक्षाका लागि आफ्नो भूमिका कस्तो हुनुपर्दछ भनेर पूर्व सभामुख, कानुनविद् तथा राजनीतिक नेतृत्वसँग छलफल गरेपश्चात मंगलवार सञ्चार माध्यमका सम्पादकहरूसँग भएको छलफलका क्रममा यो बताएका हुन् ।
सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशअनुसार २०७७ पुस ५ गतेको संसद् विघटनको कदम उल्टेको र संसद् पुनस्र्थापना गरेको र सो समयमा सरकार
गठनको सम्भावना रहुन्जेल प्रतिनिधिसभा विघटन नहुने भनेको विषय सम्झाउँदै सभामुख सापकोटाले भने, “अदालतमा वहस चलिरहेको छ, तर हामीले रचनात्मक र सिर्जनात्मक हिसाबले सहयोग गर्न सक्छौं भन्ने लाग्दछ ।”
संसद्को पुनस्र्थापना भएको खण्डमा विश्व स्वास्थ्य संगठनले लागू गरेको स्वास्थ्य मापदण्ड सम्पूर्ण रुपमा पालन गर्दै संसद् चलाउन सचिवालय सक्षम रहेको भन्दै अहिलेजस्तो अत्यन्त विकट समयमा पनि संसद्को अनुपस्थिति हुनु देशकै लागि दूर्भाग्यपूर्ण भएको बताए ।
संसद् नभएको कारण जन सरोकारका अत्यन्ध धेरै विषयमा छलफल नभएको बताउँदै नेपालमा देखिएको कोभिड–१९ को डरलाग्दो प्रभावका विषयमा समेत बरु बेलायतको संसद्मा छलफल भएको तर नेपालमा हुन नसकेको प्रति उनले चिन्ता जताए ।
सभामुख सापकोटाले कुनै देशको नाम नलिई अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा अहिले परिवर्तन आएको सन्दर्भमा हामीले त्यसबाट फाईदा लिनसक्नु पर्दछ भन्दै सो नभएको प्रति इंगित गरे । वर्तमान् सरकारको कारणले राष्ट्रिय स्वाधिनतामा समेत प्रश्न उठेको प्रति चिन्ता प्रकट गरे ।
अध्यादेशबाटै देश चलाउने गलत मनशायका विरुद्ध सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर न्याय निरुपणका लागि अनुरोध गरेकोसमेत उनले सम्झाए । उनले भने, “विगतका कुराबाट पाठ सिकेर मात्र हुँदैन, संविधानको मर्म र भावना हेर्नुपर्छ । संवैधानिक नैतिकता हेर्नु पर्छ । देश र जनताको अधिकतम हितमा के गर्नुपर्छ भन्ने सोच हुनुपर्दछ ।”
संविधानको उल्लंघन गरेर प्रतिनिधिसभालाई अपमान र अवमूल्यन गरिएको भन्दै आफूले पूर्ण निष्ठाका साथ लोकतन्त्रका लागि पहल र प्रयत्न गरिरहेको कुरामा उनले जोड दिए ।
अहिले नेपालमा देखिएको संकट बहुआयामिक भएको र यसका लागि छलफल गरेर अघि बढ्नु पर्ने र जनताका लागि लिइने हरेक निर्णय जनताले एक एक थाहा पाउनु पर्दछ भन्दै अहिले वृहत् राष्ट्रिय एकताको जरुरी भएको पनि सभामुख सापकोटाले बताए ।
कोभिड–१९ का कारणले गर्दा रोगको संक्रमणले मात्र नभई भोक र मानसिक समस्याका कारणले पनि अत्यन्त जटिल अवस्थामा देश पुगेको हुनाले जनताका आवाज सांसद मार्फत थाहा पाएर तिनका समस्या समाधानका उपाय अवलंबन गरिनु पर्नेमा संसद् नै विघटन गरेर सरकारले जनताको अहितमा कार्य गरेको पनि उनले बताए ।
“म इमान्दारिताका साथ भूमिका खेल्छु, विवेक र चेतना सहित अघि बढ्छु । जनताको जनमत निर्माण गर्ने संचार जगत्ले सहयोग गरोस्,” उनले भने ।
