वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको व्यवस्थापन पक्ष र आन्दोलनरत पक्ष बीचको वार्ता भाँडिएको छ । मंगलबार दिउँसो ३ बजे संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा.ज्ञानेन्द्र गिरीका कारण वार्ता भाँडिएको हो । आन्दोलनरत पक्षले डा.गिरी मादक पदार्थ सेवन गरेर छलफलमा बसेपछि वार्ता भाँडिएको आरोप लगाएको छ ।
डा.गिरीको रवैयापछि आन्दोलनरत पक्ष वार्ता छाडेर बाहिरिएको संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए । ‘उपकुलपति गिरीको बोली लर्बरिएको र उनी बोल्दा रक्सीको गन्ध आएको थियो, त्यसैले वार्ताको अर्थ नहुने भन्दै आन्दोलनकारी वार्तास्थलबाट बाहिरिएको छ’ पोखरेलले भने । वार्तास्थलबाट बाहिर निस्किएलगत्तै आन्दोलनरत पक्षले अस्पताल प्रशासनका पदाधिकारीहरूलाई थुनेका छन् । आन्दोलनकारीले भिसी गिरीलाई समेत वार्ता कक्षमा नै थुनेका छन् । वार्तामा अमर्यादित रुपमा उपकुलपति प्रस्तुत भएको भन्दै आन्दोलनरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरु आक्रोशित भएका छन् ।

वार्तामा अस्पताल प्रशासनका तर्फबाट उपकुलपति डा.गिरीसँगै रेक्टर डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, अस्पताल डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा.प्रमोद बराल सहभागी थिए भने अस्पतालका निर्देशक डा.गौरीशंकर साह सहभागी थिएनन् ।