काठमाडौं । सरोकारवाला संघ–संस्थाले विषम परिस्थितिमा चलचित्र क्षेत्रमा अपेक्षित काम गर्न नसकेको चलचित्रकर्मीहरुले बताएका छन् । कोरोनाका कारण लामो समयदेखि निष्क्रिय प्रायः रहेको चलचित्र उद्योगलाई चलायमान बनाउन र जोखिम न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्न नसकेको उनीहरुको गुनासो छ ।
अहिलेको पहिलो आवश्यकता कोभिड–१९ विरुद्धको भ्याक्सिन रहेको र चलचित्रसँग सम्बन्धित निकायले चलचित्रकर्मीलाई खोपका लागि आवश्यक पहल नगरेको निर्देशक निश्चल बस्नेत बताउँछन् । यसका लागि सम्बन्धित पेसागत संघ–संगठनले एकीकृत रुपमा पहल गर्नुपर्ने र आवश्यक परे दबाब नै दिनुपर्नेमा उनको जोड छ ।
“विभिन्न क्षेत्रका व्यक्तिहरुले आ–आफ्ना पेसागत संघ–संगठनमार्फत खोप लगाइसकेका छन् । कति अब लगाउँदै छन् । तर, हामी चलचित्रकर्मीहरुले कहिले खोप लगाउन पाउने ?,” निश्चल प्रश्न गर्छन्, “चलचित्र विकास बोर्ड, निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघलगायत थुप्रै पेसागत संगठन छन् । उनीहरुले एकीकृत रुपमा माग गरेर चलचित्रकर्मीलाई खोप लगाउने व्यवस्था मिलाउन सक्तैनन् ?
निर्माता संघले निर्माताहरुलाई, निर्देशक समाजले निर्देशकहरुलाई, कलाकार संघले कलाकारहरुलाई खोप लगाउने व्यवस्था मिलाउन राज्यलाई दबाब दिन सक्नुपर्ने तर नसकेको उनको गुनासो छ ।
“जहिलेससम्म हामी खोप लगाउन पाउँदैनौँ, त्यो बेलासम्म काम गर्न सक्ने वातावरण हुँदैन । यस्तै अवस्था रहिरहे हामी कोरोनाको तेस्रो लहर मात्रै होइन, चौथो/पाँचौँ लहर आउँदासम्म पनि खोप लगाउन पाउँदैनौँ,” निश्चल भन्छन्, “जबसम्म खोप लगाउन पाउँदैनौँ, त्यो बेलासम्म न चलचित्रको काम गर्न सकिन्छ, न बनेका चलचित्र देखाउन सकिन्छ ।” चलचित्र क्षेत्रको विद्यमान जोखिम न्यूनीकरणका लागि पनि चलचित्र विकास बोर्डसहित अन्य पेसागत संगठनले यसमा चासो देखाउनुपर्नेमा उनको जोड छ ।
चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन चलचित्र विकास बोर्डको ठूलो हात हुने र सोहीअनुसारको पहलकदमी हुनुपर्ने निर्माता तथा कलाकार माओत्से गुरुङ बताउँछन् । राज्यको उदासीनताले अब चलचित्र क्षेत्रमा रहने वा नरहने भनेर सोच्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।
“चलचित्र क्षेत्रका संघ–संस्था र चलचित्र विकास बोर्डले यसमा ध्यान दिन सकेको छैन वा दिएर पनि काम भइरहेको छैन, हामीले बुझ्न सकेको छैन,” माओत्से भन्छन्, “यस्तो अप्ठ्यारो परिस्थितिमा सहयोग गर्न सक्नुपर्थ्यो । महामारीको यो समयमा चलचित्र विकास बोर्ड र राज्यका निकायबाट चलचित्रकर्मीहरुलाई प्योकजमै सहयोग ल्याउनुपर्ने थियो । तर, हुनसकेको छैन ।”
कला र संस्कृतिको रक्षाका लागि काम गर्नेहरु नै राज्यबाट उपेक्षामा परेको उनको गुनासो छ । नाफाको आँखाले मात्रै नभएर देशको कला, भाषा, संस्कृति र संस्कारहरुलाई उठान गरेका चलचित्र पहिचान गरेर सहयोगको प्याकेज घोषणा गर्नुपर्ने उनको धारणा छ ।
“म आफैँ दुई वर्षदेखि चलचित्र रिलिज गर्न नपाएर बसिरहेको छु । करोडौँ लगानीको चलचित्र दुई वर्षदेखि रिलिज नहुँदा त्यसको घाटा कति हुन्छ, त्यो धेरैलाई थाहै छ,” उनी भन्छन्, “कुन सिनेमा व्यापारका लागि मात्रै हो र कुन देशको कला, भाषा, संस्कृति र संस्कारको संरक्षणको पनि उद्देश्य राखेर बनाइएको हो, यसको पहिचान गर्नु आवश्यक छ । यसो गरिए निर्माताको मनोबल उच्च हुने अन्यथा यो पेसालाई कर्म बनाउनेहरु पेसा नै परिवर्तन गर्ने अवस्थामा हामी पुग्छौँ ।”
विकास बोर्डसहित पेसागत संघ–संस्थाले संयुक्त रुपमा दबाब दिएर शून्यमा रहेको चलचित्र क्षेत्रलाई पहिलाकै लयमा फर्काउनुपर्ने भन्दै उनी इन्कोडिङ, प्रदर्शनको केही शुल्क र प्रचारमा केही सहयोग गर्छु भनेकै आधारमा चलचित्र रिलिज गर्न नसकिने उनी बताउँछन् ।
“यसका लागि सबै निर्माता, निर्देशक तथा पेसागत संघ–संगठनहरु एक भएर राज्यलाई दबाब दिन सक्नुपर्छ,” माओत्से भन्छन्, “आफ्ना माग सम्बोधन गराउन विकास बोर्ड र पेसागत संघ–संगठनले आफूलाई बलियो बनाएर अगाडि बढाउन सक्नुपर्छ ।”
यता, चलचित्र विकास बोर्डले भने चलचित्रकर्मीहरुका लागि खोपका लागि पहल गर्दै आएको जनाएको छ ।
चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का हालसम्म करिब १०० कलाकारले कोरोनाविरुद्धको खोप लगाएको र बाँकी कलाकारलाई पनि खोप लगाउनका लागि पहल भइरहेको बताउँछन् । “हामीले मन्त्रालयमा गएर नै आग्रह गरिसकेका छौँ । मन्त्रीज्यूले विकास बोर्डमार्फत नै खोप उपलब्ध गराउने भन्नुभएको छ । आशा गरौँ, चाँडै नै कलाकारले खोप लगाउन पाउनेछन्,” अध्यक्ष खड्का भन्छन् । उनले तीन हजारदेखि ३५ सय खोप माग गरिएको जानकारी दिए ।
चलचित्रसँग सम्बन्धित संघ–संस्थाहरुले कहिल्यै पनि अपेक्षित काम गर्न नसकेको कलाकारहरुले गुनासो गर्दै आएका छन् । “हाम्रो राजनीति जस्तो लथालिंग छ, हाम्रा चलचित्रसँग सम्बन्धित पेसागत संगठन र चलचित्र विकास बोर्ड पनि त्यस्तै लथालिंग छन् । जबसम्म यी संस्था राजनीति गर्ने अखडा बनिरहन्छन्, यिनीहरुबाट पेसागत हकहितको अपेक्षा गर्नु नै बेकार छ,” एक चलचित्रकर्मी भन्छन् ।
