काठमाडौं, असार १९ : नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नेगरी तयार गरिएको प्रस्ताव फिर्ता नलिएसम्म त्यहाँका विभिन्न कर्मचारी संघ संगठनहरूले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्।
असारभित्रै निजीकरण प्रक्रिया सक्नेगरी प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले कम्पनीमा परिणत गर्ने प्रबन्धपत्र र नियमावली हतारहतार सञ्चालक समितिबाट अनुमोदन गरेर पर्यटन मन्त्रालयमा पेश गरेका छन् । निगमका कर्मचारी युनियनहरूले उक्त निर्णय तत्काल फिर्ता गर्न प्रबन्ध निर्देशक पौडेललाई आग्रह गरे पनि उनी केही दिनयता कार्यालय आउनै छाडेका छन्।
‘निगमलाई निजीकरण गरेर बेच्ने योजनाअनुसार तयार गरिएको प्रबन्धपत्र र नियमावली तत्काल फिर्ता नलिए हामी चरणबद्ध आन्दोलनमा जान्छौँ,’ निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले काठमाडौं प्रेससँग भने, ‘शुक्रबार हामीले प्रबन्ध निर्देशक र अपे्रसन डाइरेक्टरको कोठमा तालाबन्दी गरेका छौँ, आइतबारदेखि अरू चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा हुन्छ।’
निगम सञ्चालक समितिले अनुमोदन गरेको निजीकरण गर्ने दस्तावेजमा ५१ प्रतिशत सेयर निजी कम्पनी वा व्यक्तिलाई बेच्न सक्ने उल्लेख छ। झण्डै एक खर्बको सम्पत्ती रहेको निगमको चुक्ता पुँजी कम मूल्यांकन गरेर ५० अर्ब रुपैयाँ मात्रै राखिएको छ। निगमका कर्मचारी युनियनहरूले निगमको सम्पत्तीको कम मूल्यांकन गर्ने र निजीकरण गर्ने योजना गलत भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
‘निगमको जहाज उडाउने र व्यापार बढाउने कुनै योजना नबनाउने प्रबन्ध निर्देशकले निजीकरण गर्ने दस्तावेज १४ दिनमा सञ्चालक समितिबाट अनुमोदन गराएका छन्,’ कुँवरले भने, ‘निगमलाई कौडीको भाउमा बेच्ने योजना हामी कुनै पनि हालतमा सफल हुन दिँदैनौँ ।’
