काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरुसित छलफल गरेका छन् ।
एमाले केन्द्रीय कमिटीको ‘अल्टिमेटम’पछि शनिबार काठमाडौंको एउटा कलेजमा उनीहरुबीच छलफल भएको हो । शुक्रबारको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि सोबारेमा छलफल गरिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
वरिष्ठ नेता झलनाथ खनाल–नेपाल पक्षका सांसदहरुले उक्त हस्ताक्षर फिर्ता नलिने भएका छन् । सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन आउँदो सोमबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।
“त्यस्ता निर्देशन त कति आए आए । कति कारबाही गर्ने, फुकुवा गर्ने, खारेज गर्ने, बदर गर्ने गरिरहनुभएको छ । त्यसँग हामीलाई कुनै सरोकार नै भएन,” एक सांसदले भने, “हामी पूर्ववत् निर्णयबाट दायाँ–बायाँ भएका छैनौँ ।”
सर्वोच्च अदालतको फैसला आएपछि राजनीतिले नयाँ कोर्ष लिने र त्यसमा आफूहरु निर्णायक भएर अगाडि बढ्ने ती सांसदको भनाइ थियो ।
