लियोनल मेसीको उत्कृष्ट प्रदर्शन प्रेरित अर्जेन्टिनाले आइतबार भएको खेलमा इक्वेडरलाई ३–० ले हराउँदै कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाएको छ।
स्टार खेलाडीले भरिएको अर्जेन्टिनाले गोयानियामा सम्पन्न खेलमा सहज जित निकाल्दै अन्तिम चारमा कोलम्बियाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ। सोही दिन उरुग्वेलाई पेनाल्टी सुटआउटमार्पmत स्तब्ध बनाउँदै कोलम्बियाले अन्तिम चारमा १४ पटकको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न लागेको हो। अर्जेन्टिनाको जितमा मेसीले एक गोल गर्दा दुईवटै गोल अवसर सिर्जना गरेका थिए। रोड्रिगो डे पाउल र लाउटारो मार्टिनेजका लागि गोल अवसर सिर्जना गरेका मेसीले इन्जुरी समयमा फ्रिकिक गोल गर्दै यादगार व्यक्तिगत प्रदर्शन गरे। खराब गोलअन्तर भए पनि १० खेलाडीमा सीमित इक्वेडरले अर्जेन्टिनालाई कडा चुनौती प्रस्तुत गरेको थियो।
पेड्रो हिकापी रातो कार्ड खाएर बाहिरिएपछि इक्वेडरले एक खेलाडीबिना खेल्नुपरेको हो। ‘यथार्थमा आजको खेल निकै चुनौतीपूर्ण बन्यो। हामीलाई थाहा थियो इक्वेडरसँग कठिन हुने गर्दछ। उनीहरूका खेलाडी तीव्र र मिहिनती छन्। युवाका साथै शारीरिक रूपमा पनि बलिया खेलाडी छन्,’ मेसीले भने, ‘जबसम्म दोस्रो गोल भएन हामीले निकै संघर्ष गर्नुपर्यो।’ अर्जेन्टिनाले खेलको सुरुआतमै गोल गर्ने सुन्दर अवसर गुमाएको थियो। इक्वेडरका गोलकिपर हर्नान गालिन्डेज नै बिट भएको अवस्थामा मार्टिनेजको प्रहार रोबर्ट एर्बोल्डियाले गोललाइनबाटै क्लियर गरिदिए। त्यसलगत्तै मार्टिनेजको अर्को वाइड प्रहारले पनि गोलको दिशा लिन सकेन।
इक्वेडरका कार्लोस गु्रजोको ब्याक पास खोस्दै अर्जेन्टिनाले गोल गर्ने अवसर पाए पनि मेसी चुके। गोलकिपर गालिन्डेज पनि बिट भएको अवस्थामा मेसीको प्रहार पोस्टमा लागेर बाहिरिन पुग्यो। अर्को छेउबाट अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले इक्वेडरका आक्रमण निस्तेज पारे। खेलको ४०औं मिनेटमा मेसीको पासमा डे पाउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। पहिलो हाफअगाडि नै गोन्जालेजको प्रहार इक्वेडरका गालिन्डेजले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई अग्र्रता दोब्बर बनाउनबाट रोके। १–० को अग्रता बनाए पनि अर्जेन्टिनाले लामो समयसम्म दोस्रो गोलका लागि कुर्नुपर्यो। खेलको ८४औं मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता दोब्बर बनायो।
इन्जुरी समयमा सब्स्च्यिुट खेलाडी एन्जल डी मारियालाई लडाएपछि इक्वेडर १० खेलाडीमा सीमित बन्यो। सोही अवसरमा प्राप्त फ्रिकिक सदुपयोग गर्दै मेसीले अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए। ब्राजिलियामा भएको अर्को खेलमा गोलकिपर डेविड ओस्पिना नायक बन्दा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनायो। कोलम्बियाका लागि १ सय १२औं क्याप जितेको दिन उनले दुई पेनाल्टीलाई असफल बनाए। खेलको निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा रोकिएपछि लिइएको पेनाल्टी सुटआउटमा ओस्पिनाको नायकी प्रदर्शन रह्यो।
ओस्पिनाले जोसे जिमिनेज र माटियस भिनाको पेनाल्टी रोक्दा कोलम्बियाले भने चारै पेनाल्टीमा गोल गर्न सफल भयो। उरुग्वेका लागि इडिनस काभानी र लुइस स्वारेजले मात्र पेनाल्टीमा गोल गर्न सके। यसअघि ब्राजिलले चिलीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा पेरूले पनि पाराग्वेमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै अन्तिम चारमा स्थान बनाइसकेको छ।
