राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
महान्यायाधिवक्ता कार्यालयको निर्णयअनुसार सरकारी वकिलले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालतले उक्त मुद्दा फिर्ता लिने अनुमति प्रदान गरेको हो । यो निर्णयसँगै लामिछानेमाथि लागेका केही गम्भीर अभियोग हट्ने भएको छ ।
महान्यायाधिवक्ता कार्यालयले यसअघि नै विभिन्न जिल्ला अदालतमा रहेका रवि लामिछानेसँग सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिन सरकारी वकिलहरूलाई स्वीकृति दिएको थियो । काठमाडौं जिल्ला अदालतसहित कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा पनि यस्तै प्रक्रिया अघि बढेको थियो ।
रवि लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगी प्रकरणसँग जोडिएर संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीका मुद्दा दायर भएका थिए । महान्यायाधिवक्ता कार्यालयको निर्णयपछि सरकारी पक्षले अभियोगपत्र संशोधन गरी उक्त दुई गम्भीर कसुर फिर्ता लिने प्रयास गरेको हो ।
अदालतको यो अनुमतिपछि अब काठमाडौं जिल्ला अदालतमा रहेको मुद्दाको अभियोगपत्र संशोधन हुने भएको छ । सहकारी ठगीको मुद्दा भने कायमै रहने बताइएको छ ।
