सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो ।
मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुग्दा मृतक महिलाको शरीरमा कपडा थिएन । उनको केहि दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको मिश्रले बताए ।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा पुराएको उनले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका–८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगद समेत फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबर लगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो ।
