“उडिजाने जहाज पठाको छु खबर मलाई छुने हावालाई , काठैको बाकसमा नल्याइदिनु मेरो बाबालाई ”
भलै यो शब्द सुन्दा सामान्य एउटा गित जस्तो लाग्ला तर यी शब्द भित्र कसैको नमिठो कहिल्यै भुल्न नसकिने एउटा चोट लुकेको छ । सानै उमेरबा बुबा गुमाएकी ९ वर्षिय एक बालिकाले आफू र आफ्नो परिवारले भोगेका संघर्ष दुःखहरूलाई भुलाउँदै स्वर्गीय बुवाको सम्झनामा निकै भाबुक गित गाएर सबैलाई रुवाएकी छिन् ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाइ की प्रिति बिक को बुवा दीपककोे ३३ वर्षकै उमेरमा दुई वर्ष पहिले मृगौला रोगका कारण मृत्यु भएको रहेछ । भएको सम्पति पनि उनैको उपचारमा सकिएकाले उनकी आमा २४ वर्षीया आमा कमला विकले ५ सन्तानको लालनपालन र पढाईका निम्नी दिनभर गिटी कुट्छीन् । नत्र छाक टार्न समेत मुस्किल पर्छ । प्रितिका चार दिदी र एक भाइ छन्। उनी चार बहिनीमध्येकी कान्छी हुन्।
सम्पत्तिका नाममा एउटा खरले छाएको कच्ची घर मात्रै रहेकोले केटाकेटी पालनपोषणमै समस्या परेको कमला सुनाउँछिन्। ‘पहिला भारत गएर जिविका चलाउँथ्यौँ। एकाएक श्रीमानलाई मृगौलाको रोग लाग्यो। भएको दुई रोपनी पनि उपचारमै गयो,’ कल्पनाले भनिन्, ‘उहाँको मृत्यु भएपछि यी केटाकेटी पालन पोषणमै समस्या भएको छ।’ पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाई स्थित जनजागृति आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत उनले हिजो बिहिबारको दिन बिहान एसेम्लीमा राष्ट्रिय गान गाइसकेपछि आफूलाई मञ्चमा आउने अनुमति सरहरूसँग मागिन्। त्यसपछि उनले आफ्नो पारिवारिक समस्या र आफूले बुवा गुमाएपछि भोगेको पीडा गीतका शब्द मार्फत फुकाउन थालेकी हुन् ।
प्रीतिले गीत सुरु गर्दै गर्दा अध्यारो मुहार थियो तर एक्कैछिनमा उनी भक्कानिदै रोइन , तर गित गाउन भने रोकिएकी थिइनन् । गाउँदै मञ्चमै रुन लागेकी उनलाई देखेर विद्यालयका अन्य विद्यार्थी र शिक्षक कर्मचारीहरूका समेत आँखा रसाए। यो भिडियो हेरेर कस्का आखा नरसाउँलान र ? उनले गाएको उक्त भावुक गीत विद्यालयका सूचना अधिकारी शिक्षक लक्ष्मी सापकोटाले मोबाइलमा कैद गरेर सामाजिक सञ्जालमा पोस्ट गरे। उनको यो भिडियोे अहिले सामाजिक सञ्जालमा यत्रतत्र भएके छ । उनको यो अवस्था देखेर सबैको आखा रसाएका छन् ।
विभिन्न समस्याका बावजुत पनि उनी विद्यालयमा पढ्न आउने गरेकी रहेछिन्। विद्यालयमा अनुशासित र मिहिनेती छात्रा रहेकी प्रितिले पढेर सरकारी जागिर खाने सपना देखेकी छिन्। उनको पारिवारिक अवस्था निकै दयनीय भएर आफ्नो गीत मार्फत् वेदना सुनाएपछि सबै जना भावुक भएको विद्यालयका प्रधानाध्यापक थानीप्रसाद घिमिरेले बताए। प्रधानाध्यापक घिमिरेका अनुसार बालिकाको बुवाको मृत्यु भएको दुई वर्ष बिहिबार नै पुगेको रहेछ। उनका बुवाको शव बाकसमा ल्याइएको रहेछ। त्यही घटनालाई उनले गीतमार्फत् व्यक्त गरेकी रहिछिन्। उनले आफ्नो गितमा आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन उडिजाने जहाजलाई अनुनय बिनय गरेकी छिन् । उनका शब्द शब्दले यतिबेला सबैलाई भाबुक बनाएको छ ।
