बागलुङ । प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा ३०३ तोला गरगहना चढाइएको छ । आज उक्त मन्दिरमा चढाइएको सुन तथा चाँदीका गरगहना सार्वजनिक गरिएको हो ।
बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गर्दै २०७८ असोज १२ देखि हालसम्म ३० प्रकारका तीन सय तीन तोलाका विभिन्न गरगहना सङ्कलन भएकोे जनाएको हो । उक्त मन्दिरले मासिक रुपमा आयव्यय विवरणसमेत सार्वजनिक गर्दै आएको छ । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी हुने लक्ष्यले उक्त जिन्सी सार्वजनिक गरिएको बताए ।
सार्वजनिक विवरणअनुसार गुठीले ३० भन्दा बढी प्रकारका गरगहना सार्वजनिक गरेकामा १७ थान सुनको तिलहरी, एक थान सुनको सिक्री, सात थान सुनको टीका, तीन थान मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, जन्तर, नाग र तारलगायत छन् ।
त्यस्तै चाँदीमा तिलहरी, घोडा, औँठी, पाउजुजस्ता धेरै गहना मन्दिरमा चढाइएको थियोे । विसं २०७७ अघि मन्दिरमा चढाइएका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउनु पथ्र्योे । त्यसयता दुई पटकसम्म गरगहना सार्वजनिक भइसकेको उनको भनाइ थियो । विसं २०७७ यताका गरगहना बैंकको लकरमा राख्दै आइएकामा सुन र चाँदीका गरगहना सार्वजनिक कार्यक्रमै एकीकृत गर्न गालिएको थियो ।
