त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् ।
शुक्रबार बिहान आफ्नो काम सकी फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेका हुन् । मेटल फ्री भई फर्कने क्रममा प्रहरीले शरीर खानतलासी गरेपछि कर्मचारीले मेटल फ्री भएपछि सधैँ यसरी त चेक गर्नु पर्दैन होला नि भनेकामा प्रहरीले कुटपिट गरेको अध्यागमन कर्मचारीको गुनासो छ । यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए । त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताए ।
शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भयो ।
यसको गुनासो आएपछि अध्यागमन कार्यालय प्रमुख हमाल आफैं सीसीटीभी फुटेज हेर्न गए । प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिन्छ । हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यही लात्ताले हाने । त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमाललाई पनि लाग्यो ।
लगतै अध्यागमन कार्यालय प्रमुख हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका छन् । यसबारे विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द समेतको उपस्थितिमा छलफल भइरहेको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालका अनुसार शुक्रबार बिहान कर्मचारीमाथि प्रहरीले कुटपिट भएपछि दुवै पक्षबिच छलफल भएको थियो । छलफलमा जो दोषी देखिन्छ उसलाई कारबाही गर्ने भनी सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच भनाभन भएको देखिएको र भनाभनपछि प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको थियो । त्यसपछि हमालले प्रहरीको ज्यादती बढी भयो भनी कुरा गर्ने बित्तिकै सीसीटीभी शाखामा रहेका प्रहरीहरुले पुनः मोक्तानमाथि आक्रमण गरेका थिए । त्यही क्रममा कार्यालय प्रमुख हमालमाथि समेत आक्रमण भएको छ ।
हमालका अनुसार प्रहरी कर्मचारीले पछाडिबाट आफूमाथि समेत लात्ती प्रहार गरेका बताए । हमालले भने, ‘उनीहरुले चिनेर हाने कि नचिनी हाने त्यो थाहा छैन, तर ममाथि पनि लात्ती प्रहार भयो । यो प्रहरीको ज्यादती हो, यो अति भयो ।’ प्रहरीले आफुमाथि ज्यादती गरेको हमालले बताएका छन् ।
