मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् ।
बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन् । उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि द्र्व्यवहार भएको थियो ।
पीडित महिला बिहीबार साँझ हरैचामा रहेको प्रहरी कार्यालय पुगेकी थिइन् । लगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।
