मोरङ केराबारीमा एक व्यक्तिले आफ्नै माइजू र बहिनी (माइजूकी छोरी)माथि बिहीबार बिहान खुुकुरी प्रहार गरेका छन् ।लेटाङ नगरपालिका–१ का ५२ वर्षीय नीरकुमार राईले माइजू र बहिनीलाई खुकुरीले हानेका हुन् । नीरकुमारले खुकुरीले प्रहार गरेर माइजू केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र जमुनादेवीकी छोरी २५ वर्षीया रेणुका राईलाई घाइते बनाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।
उनका अनुसार पेस्तोल र खुकुरी बोकेर घरमै पुगेका नीरकुमारले जमुनादेवी तथा रेणुकालाई बिहान ९ः३० बजे खुकुरीले प्रहार गरेका हुन् । नीरकुमार जमुनादेवीका भान्जा हुन् । आरोपी नीरकुमारको साथबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ । साथै, ‘मेड इन चाइना’ लेखेको नक्कली पेस्तोलसमेत फेला परेको पोखरेलले बताए ।
उनका अनुसार नीरकुमारको साथबाट सक्कली र नक्कली पेस्तोल तथा घटनामा प्रयोग गरिएको खुकुरी बरामद गरिएको छ । खुकुरी प्रहारबाट जमुनादेवी र रेणुकाको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।
केही समयअघि नीरकुमारसँग उनकी श्रीमतीले सम्बन्ध विच्छेद गरेकी थिइन् ।उनीसँग सम्बन्ध विच्छेद गरेर श्रीमतीले दोस्रो बिहे गरेको खुलेको छ । आफूबाट अलग बनाएर श्रीमतीको दोस्रो बिहे गराइदिएको आरोप उनले माइजूलाई लगाउने गरेको प्रहरी स्रोतले बतायो । त्यही विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदै आएको थियो ।
प्रहरीका अनुसार श्रीमतीको दोस्रो बिहे गराइदिएको भनी रिसईबी राखेर बसेका नीरकुमार आक्रमणको योजनासहित बिहानै पेस्तोल र खुकुरी बोकेर माइजू जमुनादेवीको घरमा पुगेका थिए ।हत्या गर्ने योजना बनाएर पुगेका उनले सुरुमा माइजू जमुनादेवीलाई खुकुरीले प्रहार गरेको एसपी पोखरेलले बताए । उनका अनुसार पेस्तोल ताक्दै खुकुरीले आमालाई हान्न थालेपछि छुट्याउन गएकी रेणुकालाई पनि प्रहार गरेको पाइएको छ । पेस्तोलले भने प्रहार नगरेको एसपी पोखरेलले बताए ।
