सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी भएको छ। यो थालनी नेपालमा पहिलो पटक भएको बताइएको छ । सुनकोसी गाउँपालिका वडा नम्बर ४ मा नवनिर्मित स्वास्थ्य चौकीको सनिवार एक कार्यक्रमका बिच उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फिजियो थेरापी सेवा सुभारम्भ गरेका हुन् ।
मन्त्री बस्नेतले सो अवसरमा फिजियो थेरापीका सामग्री हस्तान्तरण गरेका छन् । देशभरिका स्वास्थ्य चौकीमध्ये यमुना डाँडामा सुरु भएको फिजियो थेरापी सेवा पहिलो भएको बताइएको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नव निर्मित स्वास्थ्य चौकीमा थप सेवा सुरु हुनु खुशीको कुरा भएको बताउँदै बिकास निर्माणका काममा आफू सधै क्रियाशिल रहने बताएका छन् ।
स्वास्थ्य चौकीमा तला थपेर स्वास्थ्यकर्मीको क्वाटर बनाएर सहज सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप ३८ लाख रुपैयाँ बिनियोजन गरेको बताए । यहाँको स्थानीय बिकासको लागि आफू अझै १५ वर्ष सक्रिय राजनीति गर्ने दाबी गर्दै एमाले र माओवादी पार्टीका नेताहरुले भन्दा आफूले सबैभन्दा बढी काम गरेको दाबी गरे।
कार्यक्रममा स्वास्थ्य चौकीका अध्यक्ष भोजलाल श्रेष्ठले मन्त्री बस्नेतको पहलमा सुरु भएको फिजियो थेरापीले आम जनताले थप स्वास्थ्य सेवा प्राप्त गर्ने बताए। सुनकोसी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवणकुमार जोसीले आफ्नो कार्यकालमा विकास निर्माणका काम तिब्र गतिले गरेकोले अहिले उद्घाटनका काम भइरहेको दाबी गरे ।
पार्टीभित्रको आन्तरिक गुटबन्दीका कारण अध्यक्षमा गत वर्षको स्थानीय निर्वाचनमा आफूले थोरै मतले पराजय भोग्नुपरेको स्मरण गर्दै जनताको सुख दुख र विकासमा आफू सधै साथमा रहेको बताए। फिजियोथेरापिष्ट डा. निष्ठा श्रेष्ठले नेपाल मै पहिलोपटक स्वास्थ्य चौकीमा फिजियो सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै यो सेवा सुरु भएपछि स्थानीयबासीले थप स्वास्थ्य सेवा प्राप्त गर्ने बताइन् ।
स्वास्थ्य चौकीलाई आवश्यक सामग्री र तालीमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने श्रेष्ठले बताइन् । स्वास्थ्य चौकी इन्चार्ज अमर तामाङले स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा थप गरिदिएकोमा स्वास्थ्य मन्त्री बस्नेतप्रती खुसी व्यक्त गरेका छन् । गाउँकै स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा थप भएपछि स्थानिय हर्षित बनेका छन् ।
