उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अबका दिनमा सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने बताएका छन् ।
जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने भन्दै सरूवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक(एसपी)हरूलाई दबाब र प्रभावमुक्त भएर काम गर्न निर्देशन दिएका छन्।
सरुवा भएर बिभिन्न ठाउँमा जान लागेका प्रहरीहरुलाई कार्यकाल सफलताको शुभकामना दिंदै गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर गुणात्मक काम गर्न निर्देशन दिएका हुन् । शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा कार्यदक्षता को मापदण्ड बनाएर सरूवा गर्ने नीति अगाडि बढाइसकेको भन्दै बिना संकोच, दबाब र प्रभाव मुक्त भएर कानुन बमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिए।
फागुन १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरूवा गरिएको थियो। केही जिल्ला प्रहरी कार्यालय प्रमुखलाई प्रधान कार्यालयले यसअघि नै काजमा सरूवा गरिसकेको थियो।
प्रहरी प्रधान कार्यालयले कुल ७८ जना एसपीहरूको सरूवा सूची सार्वजनिक गरेको थियो। यसअघि नयाँ जिम्मेवारी तोकिएका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि गृहमन्त्री श्रेष्ठले मन्त्रालयमा बोलाएर शुभकामना तथा सरकारका प्राथमिकतामा काम गर्न सामुहिक निर्देशन दिएका थिए। अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने उनले बताए।
प्रमुखको जिम्मेवारी पाउन दल एवं नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न समेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।
त्यस्तै शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्।
लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरूद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन, यी सबै योजनामा प्रदेश तथा पालिका सरकारसँग समन्वय गरेर काम गर्न र मिटरब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्न समेत उनले निर्देशन दिएका थिए। उक्त कार्यक्रममा गृहसचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहित उपस्थित थिए।
यसअघि नयाँ जिम्मेवारी तोकिएका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि उनले मन्त्रालयमा बोलाएर शुभकामना तथा सरकारका प्राथमिकतामा काम गर्न सामूहिक निर्देशन दिएका थिए । जिम्मेवारीमा जानुअघि अधिकारीहरूलाई आवश्यक निर्देशन दिने प्रचलनको सुरुवात गृहमन्त्री श्रेष्ठले नै गरेका हुन् । यसले अधिकारीहरूलाई सरकारको कार्यभार, नीति र कार्यक्रमको स्पिरिट बुझेर काम गर्न तथा कार्यकुशलता देखाउन हौसला मिल्ने विश्वास समेत मन्त्रालय नेतृत्वले लिएको छ।
