१० जनाको ज्यान जानेगरी कपिलवस्तुको सुरही पुल नजिक भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रौतहट औरही नगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, सोही नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारी, त्यस्तै, भीमदत्त नगरपालिक १६ कि सञ्जु थापा, भिमदत्त नगरपालिका नै बस्ने खगेश्वरी खाती, सोही नगरपालिका वडा नम्बर २ बस्ने सुदिप भट्ट, पुनर्वास नगरपालिका किसन भट्ट, त्यही नगरपालिका वडा नम्बर ९ बिसफाटा बस्ने विमलादेवी भट्टको दुर्घटनामा ज्यान गएको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुई सय मिटर तल खोलामा खसेको थियो। घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुधबार राति नै बुटवल रिफर गरिएको थियो। पाँच जनाको स्थानीय आधारभुत अस्पतालमा उपचार भइरहेको छ। ६ जना सामान्य उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए।
अन्य १० जना घाइतेको कपिलवस्तुकै सञ्जीवनी अस्पतालमा उपचार भइरहेको र उनीहरूमध्ये पनि अवस्था गम्भीर भएकाहरूलाई अन्यत्र रिफर गर्ने प्रक्रियामा रहेको वलीले बताए। मध्यरातमा दुर्घटना भएको र प्रहरीलाई राति साढे १ बजेमात्र जानकारी भएकाले घाइते र मृतक ४० जनाको उद्धार गरी अस्पताल पु¥याउन नै धेरै समय लागेको प्रहरी उपरीक्षक वलीले बताए।
