सशस्त्र प्रहरी बल नेपालका अवकाशप्राप्त डीआईजी बिदुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गर्ने तयारी गर्दै खड्काले आफ्नो उम्मेदवारी कुनै पद प्राप्तिको लागि नभई राष्ट्र सेवामा आर्जन गरेको लामो अनुभव, सीप र क्षमतालाई पार्टी संगठन निर्माण तथा राष्ट्रहितमा समर्पित गर्ने उद्देश्यले दिएको स्पष्ट पारे । उनले भने, “देश बन्नुपर्छ र हामीले नै बनाउनुपर्छ भन्ने दृढ सोचका साथ २०८० सालदेखि पार्टीको यात्रामा सक्रिय रूपमा जोडिएको छु ।”
खड्काले पार्टीमा नेतृत्व क्षमता प्रदर्शन गर्दै मानव संसाधन विभागको सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् भने केन्द्रीय सचिवालयको निर्णयअनुसार र्यापिड एक्सन टिम (र्याट) को उपप्रमुखको भूमिका पनि निर्वाह गरिसकेका छन् । उनले यी भूमिकामा संगठन र पार्टी हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गरेको बताए ।
३० वर्षको सुरक्षा अनुभवलाई पार्टीमा लगाउने प्रतिबद्धता
सशस्त्र प्रहरीमा करिब ३० वर्षभन्दा बढी सेवा गरेका खड्काले सुरक्षा, प्रशासन, विपद् व्यवस्थापन र नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पु¥याएका छन् । उनले भने, “राष्ट्रसेवकको रूपमा प्राप्त अनुभवले मलाई अनुशासन, जिम्मेवारीबोध र संकट व्यवस्थापनको महत्वपूर्ण ज्ञान दिएको छ । यही अनुभवलाई अब पार्टीको संगठन सुदृढीकरण र नीति निर्माणमा उपयोग गर्न चाहन्छु ।”
उनको कार्यशैली इमानदारी, पारदर्शिता र परिणाममुखी सोचमा आधारित रहेको छ । खड्काले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन र राष्ट्रहितलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । उनले वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पार्टी संगठनलाई व्यवस्थित, सक्षम र जनमुखी बनाउने अभियानमा आफ्नो भूमिका रहने बताए ।
यसैगरी युवा पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको ज्ञानलाई जोडेर सक्षम नेतृत्व विकास गर्ने, सुशासन, जवाफदेहिता र परिवर्तनको अभियानलाई मजबुत बनाउने तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउने लक्ष्य उनको छ । बिदुर खड्का सशस्त्र प्रहरी बल नेपालका अवकाशप्राप्त डीआईजी हुन् । लामो समय सुरक्षा, नेतृत्व, संगठन व्यवस्थापन तथा विपद् व्यवस्थापनका क्षेत्रमा काम गरेका उनले इमानदार, अनुशासित र कर्तव्यनिष्ठ अधिकृतको रूपमा परिचय बनाएका छन् । अवकाशपछि उनी सामाजिक सेवा, जनहितका अभियान र राजनीतिक रूपान्तरणमा सक्रिय छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सक्रिय सदस्य तथा केन्द्रीय र्याट विभागका उपप्रमुखको रूपमा काम गर्दै आउनुभएका खड्काले सुशासन, पारदर्शिता र जनमुखी राजनीतिक संस्कृतिको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् ।
