काठमाडौं : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा प्रदर्शन भएको हो ।
शान्तिबाटिकाबाट सुरू भएको र्याली बागबजार, पुतलीसडक, भद्रकाली परिक्रमा गरेर शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको छ । र्यालीमा जनता समाजवादी पार्टीका शीर्ष नेता भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमीलगायत सहभागी भए ।
यता प्रतिनिधिसभा भंग गरेको विरोधमा पाँच मन्त्रीले राजीनामा दिएपछि रिक्त स्थानमा प्रधानमन्त्री ओलीले नियुक्त गरेका नयाँ मन्त्रीले आइतबार नै पदभार ग्रहण गरेका छन् । शुक्रबार साँझ नै राष्ट्रपतिबाट शपथ लिएका मन्त्रीहरुले आइतबार पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री ओलीको कदमको स्वागत गर्ने नेता मन्त्री बनेपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका तस्बिर :


आइतबार सिंहदरबारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको कार्यभार सम्हाल्दै जुलीकुमारी महतो । तस्बिर : प्रदीपराज वन्त/रासस

कार्यभार सम्हाल्दै श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी । तस्बिरः रत्न श्रेष्ठ/रासस


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई आइतबार मन्त्रालयमा स्वागत गर्दै सचिव यादवप्रसाद कोइराला । तस्बिरः रोशन सापकोटा/रासस




