काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको अन्तरसङ्घर्ष अन्ततः फुटको सम्मुख पुगेको छ । नेता माधवकुमार नेपालले काठमाडौँमा युवा सङ्घर्षको समानान्तर कार्यालय उद्घाटन गरेको भोलिपल्ट बिहीबार पोखरा पुगेर अलगबाटो तय गर्ने संकेत दिइसकेका छन् । उनले केन्द्रमै समानान्तर कमिटी बनाउने शङ्खघोष गरेका हुन् ।
नेता नेपालले पार्टीभित्रको अन्तरसंघर्षले विभाजनको बाटो देखाएको बताइरहँदा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज तथा त्यहाँका मुख्यमन्त्री शङ्कर पोखरेलले उनले नवौँ महाधिवेशनको हारको पीडा ओकलिरहेको बताएका छन् ।
“बुटवल अधिवेशनवाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने विधान बनाइयो । तर नवौँ अधिवेशनमा माधव कमरेड आफैँ चौथो कार्यकालका लागि उम्मेदवार बन्नु भयो र चुनाव हार्नु भयो । आज एमालेभित्रको अन्तरसङ्घर्षमा त्यही हारको तोडले काम गरेको छ,” उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा भनेका छन् ।
