विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन्। कागेश्वरी मनोहरा नगरपालिका ८ तेजविनायक बस्ने गोरखा घर भएकी ३७ वर्षीय संगीता संजेल भट्टराई कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्।
यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पा बस्ने ६८ वर्षीया दिल लक्ष्मी राई सोही ठाउँस्थित कुलोको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। आफ्नै खेतबारीमा पानी लगाउन गएकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो। यसैगरी मिथिला नगरपालिका ९ बडहरी बस्ने ७३ वर्षीय पासङ धावा तमाङ घर नजिकैको फुटबल मैदान नजिक शनिबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै सिरहा, बिष्णुपुर गाउँपालिका २ बस्ने ४५ वर्षीया उर्मिला देवी यादव सोही गाउँपालिका १ कटनियाँ खोला छेउमा शनिबार मृत अवस्थामा फेला परेकी छन्। गत बिहीबार दिउँसो घरबाट हिँडेकी उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरीले बताएको छ।
यस्तै झापा, कमल गाउँपालिका ४ बस्ने ८६ वर्षीय डम्बरशेन चेमजोङ सोही ठाउँस्थित माछा पोखरीमा शनिबार मृत अवस्थामा फेला परेका छन्। शुक्रबार साँझबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो। यस्तै ललितपुर, ललितपुर महानगरपालिका १५ लगनखेल बटुकी भैरब मन्दिर पछाडि भित्री बाटोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन्।
यसैगरी सुनसरी, कोशी गाउँपालिका १ लौकहीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। र तनहुँ, आबुखैरेनी गाउँपालिका २ मर्स्याङदी ड्याममा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
