सशस्त्र प्रहरीको दार्चुलास्थित ४४ नम्बर गणमा कार्यरत एक जना सशस्त्र प्रहरी हवल्दारलाई गोलीगठ्ठासहितको सूचना बाहिर लिक गरेको आरोपमा जेल हालिएको छ । गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको अभियोग लगाएर फसाउन खोजिएको हो ।
सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेश सिंह दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका वासिन्दा हुन l
झुठो हाजिरी विवरण बनाएर पैसा पचाउनेको उनले निँद हराम गराएका थिए । ०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा छन् ।
जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ । नरेशलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइएको छ ।
साहुले बैशाख अन्तिम साता गणभित्र हुने रासन अनियमितताबारे एक जना स्थानीय पत्रकारलाई केही सूचना दिएका थिए । हाकिमले त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई आफूखुसी विदामा छाडेर रासनमा अनियमितता गरेको भन्दै हाजिरी विवरणसहितको प्रमाण सार्वजनिक भएको थियो ।
त्यसैलाई निहुँ बनाएर साहुलाई हातहतियार र गोलीगठ्ठासहितको विवरण अधनकृत व्यक्तिलाई उपलब्ध गराएको अभियोग लगाएर जेल हालिएको आफन्तको दाबी छ ।
यता उपत्यकाका केहि गण र गुल्ममा झुठो हाजिरी बनाएर हाकिमहरुले राशनमा बदमासी गरेको पाईएको छ । हाकिमहरुले बिदा छोडिएका प्रहरी जवानहरुको समेत फर्जी हाजिरी खडा गरेको भेटिएपछि राशन पानीमा ठूलै घोटालाको आशंका गरिएको हो । हाजिरीमा जनाइएका भन्दा आधा संख्यामा मात्रै कर्मचारी ड्युटीमा भेटिएपछि सशस्त्र मुख्यालयले उपत्यका हेर्ने पशुपति बाहिनीलाई पत्र काटेर स्पष्टीकरणसमेत सोधेको स्रोत बताउछ ।
१८ नम्बर गण (नीलबाराही,कीर्तिपुर र चोभार) मा ४३६ जनाको हाजिरी जनाइएकोमा अनुगमनका बेला जम्मा २०८ जना मात्र ड्युटीमा भेटिएका थिए । विपद व्यवस्थापन, सिनामंगल-एअरपोर्टस्थित २० नम्बर गणमा २८१ जनाको हाजिरी रहेकोमा १४७ जनामात्रै कार्यक्षेत्रमा उपस्थित थिए ।
२१ नम्बर (दक्षिणकाली- खुमलटार) गणमा हाजिरीमा २६१ जना थिए, तर अनुगमन टोली पुग्दा ७१ जनाको उपस्थिति भेटियो । २२ नम्बर (गुह्येश्वरी-भक्तपुर) गणमा ३४९ जनाको हाजिरी रहेकोमा १७३ जना र २४ नम्बर गुल्म (जमल)मा १३३ जनाको हाजिरी रहेकोमा ५० जना मात्रै ड्युटीमा भेटिएको पत्रमा उल्लेख छ ।
