काठमाडौँ । नेपालको सुदूरपश्चिममा अवस्थित दार्चुला जिल्ला, जहाँ महाकाली नदीले भारतसँगको सीमा छुट्ट्याउँछ। यो नदी दार्चुलाबासीका लागि जीवनरेखा हो, तर कहिलेकाहीँ यो मृत्युको पर्याय बनिदिन्छ। प्रत्येक वर्ष हामीले दार्चुलामा तुइन चुँडिएर मानिसहरू महाकालीमा बेपत्ता भएका हृदयविदारक खबर सुन्दै आएका छौँ। यस्ता घटनाहरूले हाम्रो मनमा गहिरो पीडा र आक्रोश पैदा गर्छ, तर दुर्भाग्य, यो पीडा र आक्रोश काठमाडौंको सिंहदरबारमा बस्नेहरूले कहिल्यै महसुस गरेको देखिँदैन। विशेषगरी, देशको बागडोर सम्हालेका तीन शीर्ष नेता—केपी शर्मा ओली, पुष्पकमल दाहाल ’प्रचण्ड’ र शेरबहादुर देउवा—ले यी घटनाहरूलाई निरन्तर बेवास्ता गरिरहेका छन्। उनीहरूले यस समस्यालाई देखेर पनि नदेखेझैं र सुनेर पनि नसुनेझैं गरिरहेका छन्।
जनताले जति नै आवाज उठाए पनि, जति नै आलोचना गरेपनि चार पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली, तीन पटक प्रधानमन्त्रीको कुर्सीमा बसेका प्रचण्ड, र पाँच पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले कहिल्यै यी कुरा सुनेनन्। सत्ताको बागडोर सम्हाल्नका लागि पटकपटक प्रधानमन्त्री बनेका यिनै तीन शीर्ष नेताहरूकै कारणले आज निर्दोष दार्चुलाका जनताले अकालमा ज्यान गुमाइरहेका छन्।
अरूको त कुरै छाडौँ, सुदूरपश्चिमकै गन्यापधुरामा जन्मिएका शेरबहादुर देउवाले समेत दार्चुलाबासीका लागि केही गरेनन्। उनको गृह प्रदेशकै जनताले यस्तो जोखिमपूर्ण जीवन बिताइरहँदा उनले कुनै ठोस पहलकदमी नचाल्नु आफैँमा लज्जास्पद छ। झन् विडम्बना त यो छ कि, हाल चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा बसेका केपी शर्मा ओलीले त २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा नै गरेका थिए। तर, एक दशक बितिसक्दा पनि सीमान्त जिल्ला दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा तुइनबाटै वारपार गर्न बाध्य छन्। यसको प्रत्यक्ष परिणामस्वरुप, आज फेरि एक निर्दोष नागरिकले अकालमा ज्यान गुमाए। एक महिलाको सिन्दुर पुछियो। एक नाबालकले बुबा गुमाए।
यो दुखद घटना मंगलबारको हो, जब दार्चुलाको व्यास गाउँपालिका–२ तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी घरमा श्रीमती र छोरालाई “म घरमा चाहिने समान लिएर साँझ फर्किन्छु“ भन्दै भारत हिँडेका थिए। तर, उनी कहिल्यै घर नफर्किने गरी गए। मंगलबार मध्याह्नतिर भारतीय बजारतर्फ जाने क्रममा तुइन बाँधिएको खम्बा भाँचिएर उनी महाकालीमा खसेर बेपत्ता भएका थिए।
व्यास–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीका अनुसार तुइन बाँधिएको भारतपट्टिको खम्बा भाँचिएको थियो। नारायणसँग रहेका दुई जनामध्ये २६ वर्षीय जितु विष्ट तुइन तरेर उता पुगिसकेका थिए भने अर्का जयदु बुढाथोकी नेपालतर्फ नै थिए। नारायण नदीको बीच भागमा पुग्दा तुइन खसेको थियो। उनको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय परिचालित गरिए पनि अहिलेसम्म न उनको सास भेटिएको छ न लास।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी छत्रबहादुर राउतका अनुसार, घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को टोली खोजीमा खटिएको छ। “हामीले मातहतका सबै युनिटलाई नदी किनारमा शंकास्पद वस्तु वा व्यक्ति देख्नेबित्तिकै उद्धार वा खबर गर्न निर्देशन दिएका छौँ।” तर, महाकाली नदी उर्लिएको छ र पानी पूरै धमिलो भएकाले खोजी गर्न निकै गाह्रो भइरहेको छ उनी भन्छन्। पानी सङ्लो भएको भए खोजीमा सहजता हुने तर अहिलेको अवस्थामा सम्भावना कम हुँदै गएको समेत राउतले बताए। लगातारको वर्षा र विकट भूगोलका कारण घटनास्थलमा सञ्चार सम्पर्क स्थापना गर्न समेत कठिनाइ भइरहेको छ, जसले गर्दा खोजी कार्यको समन्वय र सूचना आदानप्रदानमा बाधा पुगेको छ।
सूचना अधिकारी राउतले भौगोलिक विकटता र पूर्वाधारको अभावका कारण स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए। उनका अनुसार, घटना भएको स्थानबाट नजिकको पक्की पुल पुग्न करिब तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। उनी भन्छन्, “आउजाउ गर्दा ६ घण्टा लाग्ने भएपछि मानिसहरूले समय बचाउन जोखिम मोलेर तुइन प्रयोग गर्छन्। यो रहर नभई बाध्यता हो। ठाउँ–ठाउँमा झोलुङ्गे पुल भएको भए यस्तो जोखिम कसैले मोल्ने थिएन।”
यस्तै, व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवरले पनि नारायण सिंह बुढाथोकीको खोजी कार्य जारी रहेको बताए। उनका अनुसार, घटना भएको स्थान गाउँपालिका केन्द्रबाट करिब ५–६ घण्टाको दूरीमा पर्ने दुर्गम क्षेत्र हो। उपाध्यक्ष कुँवरले जिल्ला प्रहरी कार्यालय र नजिकैको प्रहरी चौकीका सुरक्षाकर्मीहरूले खोजी कार्य गरिरहेको बताए। उनले पनि वर्षायामका कारण महाकाली नदीमा पानीको बहाव उच्च र भेल धेरै भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताए। बेपत्ता बुढाथोकीको परिवारमा उनकी आमा, श्रीमती र एक जना छोरा छन्। परिवारले खोजी कार्यका लागि खासै दबाब नदिएको र स्थानीय वडा तथा प्रहरी चौकीलाई जानकारी गराइसकिएको उपाध्यक्ष कुँवरले बताए।
बारम्बार दोहोरिन्छन् यस्ता घटना, तर सरकारले देख्दैन्
तुइन दुर्घटना व्यास गाउँपालिकाका लागि नौलो घटना भने होइन। यसअघि पनि सुन्दर सिंह भण्डारी, सचिन बुढाथोकी, जयसिंह धामी र दिपेन्द्र विष्ट जस्ता व्यक्तिहरू तुइन दुर्घटनामा परेका थिए। यी घटनाहरूबाट पाठ सिक्दै तुइन विस्थापनका लागि गाउँपालिकाले के कस्ता योजना बनाएको छ भन्ने राइट संचारको प्रश्नमा उपाध्यक्ष कुँवरले महाकाली नदीमा नेपाल र भारत जोड्ने तुइनहरू रहेको बताए। उनले प्रत्येक वडामा नेपाल–भारत जोड्ने झोलुङ्गे पुलहरू पनि रहेको र वडा नम्बर २ मै पनि माल गाउँमा झोलुङ्गे पुल रहेको जानकारी दिए।
गत वर्ष पनि दुम्लिङकै सुन्दरसिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए। २०७८ सालमा तुइनबाट महाकालीमा खसेका जयसिंह धामी अझै बेपत्ता छन्। त्यसको अघिल्लो वर्ष व्यास–४ डोकटका १० वर्षीय दीपेन्द्र विष्ट पनि बेपत्ता भएका थिए। दुम्लिङमा मात्रै स्थानीयले तीन ठाउँमा तुइन लगाएर महाकाली वारपार गर्छन्। व्यास गाउँपालिका–२ र ५ का बासिन्दालाई किनमेलदेखि औषधि उपचार तथा आफ्नै जिल्ला सदरमुकाम पुग्न तुइनबाट महाकाली तरेर भारतको बाटो हिँड्नुपर्ने बाध्यता छ।
डोरी वा फलामको सामान्य तारलाई वारिपारि रूख, ढुंगा वा खाँबोमा अड्काएर तर्दा दुर्घटना हुने गरेको स्थानीय बताउँछन्। जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले नेपालतर्फ दुम्लिङ र भारततर्फको गर्भाधार क्षेत्रमा अवैध रूपमा तुइन लगाउने गरेको पाइएको बताए। दुम्लिङ बस्तीनजिक झोलुंगे पुल निर्माणका लागि सरकारलाई कैयौँ पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको व्यासका जनप्रतिनिधि बताउँछन्।
दार्चुला सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा नेपाल–भारत जोड्न व्यास गाउँपालिकाका ५ ठाउँमा महाकालीमाथि पुल हालिएको छ। सबैभन्दा माथिल्लो क्षेत्र सीतापुलमा पुरानो काठेपुल छ भने अन्य ४ ठाउँमा नयाँ झोलुंगे पुल छन्। तर पनि, आवश्यकताअनुसार सबै ठाउँमा पुल पुग्न सकेका छैनन्, जसले गर्दा स्थानीयवासी अकालमा ज्यान गुमाउन बाध्य छन्।
जनताले अकालमा ज्यान गुमाएको कहिलेसम्म टुलुटुलु हेरिरहने?
केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा— यी तीन नेताहरूलाई नेपाली जनताले पटकपटक प्रधानमन्त्री बनाए। जनताले उनीहरूमाथि विश्वास पनि गरे। उनीहरूले देशका समस्या समाधान गर्नेछन्। तर, दार्चुलाका जनताको समस्या उनीहरूको प्राथमिकतामा कहिल्यै परेन। ओलीले तुइन विस्थापनको घोषणा गरे तर त्यो घोषणा कागजमा मात्रै सीमित रह्यो। प्रचण्ड र देउवाले पनि यस समस्याप्रति आँखा चिम्लेर बसे।
आज फेरि एक परिवारले आफ्नो सदस्य गुमाएको छ, एक श्रीमतीको सिन्दुर पुछिएको छ र एक नाबालकले बुबा गुमाएको छ। यो केवल एउटा घटना होइन, यो राजनीतिक बेवास्ता र उदासीनताको एउटा ज्वलन्त उदाहरण हो। दार्चुलाका जनताको जीवनको मूल्य के यी नेताहरूको सत्तामोह भन्दा कम हो? कहिलेसम्म दार्चुलाका जनताले तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्नेछ? कहिलेसम्म उनीहरूले अकालमा ज्यान गुमाउनुपर्नेछ?
