रोजगारीका लागि मलेसिया पुगेका ५३ वर्षीय राजाराम मण्डल अचानक मस्तिष्कघात (स्ट्रोक) को सिकार भई हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका थिए। मलेसियामा गरिएको एमआरआईले उनको देब्रे मस्तिष्कतर्फको प्रमुख रक्तनली ७० प्रतिशत साँघुरिएको देखाएपछि परिवारले उनलाई नेपाल फर्काएको थियो। नेपाल आएपछि अन्नपूर्ण न्युरो अस्पताल पुगे पनि आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन नसकी उनी काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल पुगेका थिए।
त्यहाँ न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको सिफारिसमा मण्डललाई भक्तपुरको दुवाकोटस्थित केएमसी युनिट–२ मा भर्ना गरियो। अस्पतालमा एन्जियोग्राफी गर्दा उनको नशा एक महिनाको अवधिमै ९९ प्रतिशतसम्म साँघुरिसकेको र बारम्बार पक्षघात भइरहेको जटिल तथ्य खुल्यो। थप ढिलाइ भएको भए नशा पूर्ण रूपमा बन्द भई बिरामीले बोल्ने र हिँड्ने क्षमता गुमाउने जोखिम थियो। डा. पौडेलको टोलीले खुट्टाबाट साना पाइप र तार प्रवेश गराई ‘बेलुन एन्जियोप्लास्टी’ मार्फत अवरुद्ध भागमा स्टेन्ट (Stent) राखेर मस्तिष्कको रक्तप्रवाह पुनः सहज बनाएका छन्। हालै सञ्चालनमा आएको केएमसी दुवाकोटले यस्तो जटिल मस्तिष्कघातको पहिलो सफल उपचार गरेको हो। सफल उपचारपछि निकै कम खर्चमा मण्डल निको भएर घर फर्किएका छन्, जसले गर्दा उनका छोरा सत्यनारायण मण्डलसहित परिवारमा खुसी छाएको छ।
