काठमाडौं | सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा गौरा पर्व सुरु भएको छ। गौरा पर्व सामान्यतया ३ देखि ५ दिनसम्म मनाइने गरिन्छ। पञ्चमीको दिन देखि लिएर महिलाले स्नान–ध्यान गरी गहुँ, कोदो, गहत, गह्रौँ र चना मिसाएर ‘पञ्चधान्य’ अर्थात् बिरुडा भिजाउने गर्छन्। अष्टमीको दिन सम्म बिहान स्नान–ध्यान गरेर भिजाएको बिरुडाको पानी फेर्ने गर्दछन् ।
स्थानअनुसार फरक परम्परा रहेकाले कतिपय ठाउँमा सप्तमीकै दिन बिरुडा गौराघर भित्र्याउने गरिन्छ, भने कतिपय ठाउँमा अष्टमीका दिन मात्र गौराघरमा लैजाने प्रचलन छ। गौरालाई सिँगारेर गौराखलमा लगिन्छ र त्यहाँ देवी गौरी र भगवान् शिवको संयुक्त स्वरूपको पूजा गरिन्छ। केही स्थानमा भने गौरालाई गाउँ–गाउँमा घुमाएर पूज्ने परम्परा पनि रहेको छ।
गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायतका प्रसङ्ग बर्तालु महिलाले फागमार्फत सुनाउने गर्छन्। विशेष गरी महिलाहरू यस दिन घर–गृहस्थीको कल्याण, पतिको दीर्घायु, सन्तानको सुखसमृद्धि र परिवारको मंगलकामना गर्दै गौरा पूजामा सहभागी हुन्छन्।
पूजा सम्पन्न भएपछि महिलाहरूले परम्परागत देउडा नृत्य, भजनबन्दना तथा लोकगीत गाउने परम्परा रहिआएको छ। यस दिन गौरादेवीमा चढाइएको ‘दुबधागो’ (मन्त्रिएको धागो) महिलाहरूले धारण गर्ने गर्छन्। पुरुषहरूले जनै धारण गरेजस्तै यहाँकी महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने परम्परा रहेको छ।
पूजा सम्पन्न भएपछि बर्तालु महिलाले मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, सन्तान र आफन्तजनको दीर्घायु र कल्याणको कामना गर्दै टाउको पुज्ने चलन रहेको छ।
नेपालीहरूको महान पर्व दशैँ जस्तै, सुदूरपश्चिमतिर पनि गौरा पर्वलाई एक मुख्य पर्वको रूपमा मनाइन्छ। यस पर्वले यहाँका जनजीवनमा धेरै परम्परा, धार्मिक मान्यता र सांस्कृतिक रीतिरिवाज जगेर्ना गरेको छ।
