काठमाडौँ । भाद्र २४ गते मगंलबार। नेपालको इतिहासमा एउटा कालो दिनका रूपमा अंकित भयो। आक्रोशित आन्दोलनकारीहरूले देशको मुटुमा आगो झोेसे । नेताका घरहरू एकपछि अर्को गर्दै धूवाँमा परिणत भए। सिंहदरबार, जहाँबाट देशको शासन–प्रशासन चल्छ, त्यो भवन पनि आगोको लप्काले निल्यो। न्यायको मन्दिर, सर्वोच्च अदालत पनि ध्वस्त भयो ।
लोकतन्त्रको प्रतीक संसद भवन, फल्मिी शैलीमा जल्यो। जनताको सुरक्षामा दिनरात खटिने प्रहरीहरु फिल्मी शैलीमा कुटिए । चौकीहरू जलेर ध्वस्त भए । यो हिंसाको ताण्डव नृत्य हेर्दा लाग्थ्यो, देश अराजकताको गहिरो खाडलमा जाकिँदैछ। तर, यसै कालो बादलको बीचबाट मानवताको एउटा चम्किलो किरण देखियो । जसले अहिले विश्वभर चर्चा बटुलिरहेको छ। सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा भाइरल भएको यो भिडियो हेर्नुहोस त ।
भिडियोमा, सडकमा नेपालको झण्डा ओढेर नाराबाजी गरीरहेका आन्दोलनकारीहरु छन् । चारैतिर हिंसा र तोडफोडको माहोल छ। यसैबीच एउटा नीलो रङको पर्यटक बस त्यहाँ आउछ । बसभित्र केही विदेशी पर्यटकहरू सवार छन्, जसका अनुहारहरू झ्यालको सिसाबाट प्रस्ट देखिन्छन्। सायद उनीहरू यो अप्रत्याशित परिस्थितिबाट भयभीत थिए। तर, जुन दृश्य त्यसपछि देखियो, त्यो साँच्चै हृदयस्पर्शी थियो। आन्दोलनकारीहरू, जसले केही क्षणअघि मात्रै प्रहरी चौकीमा आगो लगाइरहेका थिए, घरहरू भत्काइरहेका थिए, तिनै युवाहरू पर्यटक बसतर्फ अघि बढे। तर, हिंसाको नियतले होइन, सुरक्षाको भावनाले। उनीहरूले बसलाई स्कर्टिङ गर्दै, सुरक्षा दिँदै गन्तव्यतर्फ पठाए। यो दृश्यले सबैलाई चकित पार्यो। आक्रोशको आगोमा पनि नेपालीको परम्परागत पाहुना सत्कार र मानवीयता कसरी जीवित रहन्छ भन्ने यसले पुष्टि गर्यो।
प्रत्यक्षदर्शी भास्कर पौडेल, जो हाम्रा सहकर्मी समेत समेत हुन । उनका अनुसार भदौ २४ गत मगंलबार करिब दिउसो २ बजे बिदेशी पयर्टक बोकेको यो बस तिनकुनेबाट कोटेश्वर हुदै जडिबुटीतर्फ गइरहेको थियो र यो घटना ठ्याक्कै कोटेश्वर चोकमा भएको हो । प्रत्यक्षदर्शी पौडेल भन्छन्, “त्यो बेला प्रदर्शनकारीहरूले कोटेश्वर प्रहरी बिटमा आगो लगाइरहेका थिए, केही घरमा आगजनी र तोडफोड पनि भइरहेको थियो। तर, त्यही बेला विदेशी पर्यटक बोकेर आएको बसलाई भने उनीहरूले स्कर्टिङ गरेर सुरक्षित गन्तव्यतिर पठाएका थिए।“ पर्यटकहरूले युवाहरूलाई धन्यवादसमेत दिएका थिए ।
यो घटनाले नेपालीहरूको ’अतिथि देवो भवः’ (अतिथि देवता समान हुन्) भन्ने सनातन संस्कृतिलाई पुनर्पुष्टि गरेको छ। एकातर्फ हिंसा र विध्वंसको चरम रूप प्रदर्शन गरिरहेका युवाहरू, अर्कोतर्फ त्यही अवस्थामा विदेशी पाहुनालाई सम्मान र सुरक्षा दिइरहेका उनीहरू। यो विरोधाभासले नेपाली समाजको जटिल तर सुन्दर पक्षलाई उजागर गर्छ।
सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएपछि विश्वभरका मानिसहरूले नेपालीहरूको यस मानवीय कार्यको प्रशंसा गरिरहेका छन् ।
