काठमाडोँ । नेपो बेबी’ ट्रेन्डले सत्तालाई हल्लाएको राप सेलाउन नपाउँदै नेपाली राजनीतिमा ’एक्सपोज झोले’ नामक अर्को भूकम्प सुरु भएको छ। आन्दोलनमा रगत बगाएका युवाहरू अस्पतालको बेडबाट उठ्न नपाउँदै जनताको लात खाएर भागेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ जस्ता शीर्ष नेताहरू फेरि सत्ताको सिँढी चढ्ने दाउ हेर्न थालेपछि युवाहरू पुनः सल्बलाएका छन्।
केपी शर्मा ओली, जसले गुन्डुमा आफ्नो सक्रियता बढाएर फेरि आफ्नो पुरानो शैलीमा फर्कन खोजिरहेका छन्, उनलाई युवाहरूले अब ’झोले’ को संज्ञा दिएका छन्। उनको ’म नै सर्वेसर्वा’ भन्ने अहङ्कार, असहिष्णुता र पाखण्डीपन अब युवा पुस्तालाई स्वीकार्य छैन। त्यस्तै, शेरबहादुर देउवा र उनका ’चेला’हरू, जसले वर्षौंदेखि सत्तामा टाँसिएर देशलाई उधोगतिमा धकेलेका छन्, उनीहरूको पनि पोल खुल्दैछ। भ्रष्टाचारमा लिप्त, अक्षम र दूरदृष्टिहीन नेतृत्वविरुद्ध युवाहरूले निर्णायक प्रहार गरिरहेका छन्।
सामाजिक सञ्जालमा महेश बस्नेत जस्ता भड्काउने नेताहरूलाई समेत लक्षित गरी पोस्टहरू भाइरल भइरहेका छन्, जसले एमालेको ’गुन्डागर्दी’ शैलीलाई उदांगो पारेको छन्। प्रचण्ड र उनको ’परिवारवाद’ पनि यो ’झोले’ ट्रेन्डबाट अछुतो छैन। ’जनयुद्ध’ को विरासतलाई निजी स्वार्थमा प्रयोग गर्ने प्रवृत्तिलाई युवाहरूले अब चिन्न थालेका छन्। युवाहरूको स्पष्ट सन्देश छः अब पार्टीको झण्डा बोकेर जयजयकार गर्ने दिन गए। पार्टीका ’झोले’ कार्यकर्ता बनेर नेताहरूको भजन गाउने होइन, आफ्नो भविष्य आफैं बनाउने बेला आएको छ। भ्रष्टाचार विरुद्धको प्रदर्शन सत्ता बदल्ने चरणमा पुगेको छ, र सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले ६ महिनामा निर्वाचन गर्ने घोषणाले नयाँ आशा जगाएको छ। तर, यसको जस लिन सुधन गुरुङदेखि पुरानै दलका नेता तथा कार्यकर्तासम्म र आन्दोलनसँग नजोडिएकाहरू समेत सक्रिय भएपछि ’एक्सपोज झोले’ ट्रेन्ड झनै सान्दर्भिक बनेको छ। यो ट्रेन्डले स्पष्ट पार्छ कि युवाहरू केवल सत्ता परिवर्तनमा मात्र होइन, प्रवृत्ति परिवर्तनमा पनि विश्वास राख्छन्।
सामाजिक सञ्जाल, विशेषगरी टिकटक, पछिल्लो समय नेपाली युवाहरूको राजनीतिक असन्तुष्टि पोख्ने र परिवर्तनको आह्वान गर्ने सशक्त माध्यम बनेको छ। ’नेपोबेबी ट्रेन्ड’ र ’जेनजी आन्दोलन’ को सफलतापछि अहिले ’एक्सपोज झोले’ नामक नयाँ ट्रेन्डले तीव्रता पाएको छ। यो ट्रेन्डमार्फत युवाहरूले राजनीतिक दलमा आबद्ध र पुराना नेताहरूसँग नजिक रहेका व्यक्तिहरूलाई ’झोले’ को संज्ञा दिँदै उनीहरूको फोटो र भिडियो सार्वजनिक गरिरहेका छन्।
के हो झोले ट्रेन्ड?
’झोले ट्रेन्ड’ भनेको राजनीतिक दलका नेताहरूको जयजयकार गर्ने र उनीहरूसँग नजिक रहेर व्यक्तिगत लाभ लिने ’झोले’ हरूलाई सामाजिक सञ्जालमा ’एक्सपोज’ गर्ने अभियान हो। टिकटक प्रयोगकर्ताहरूले विभिन्न नेताहरूसँग झन्डा बोकेर हिँडेका, फोटो खिचाएका वा उनीहरूको बचाउमा लागेका कार्यकर्ताहरूको फोटो र भिडियो राखेर ’माउथ ओपन, ब्रेन क्लोज झोले’ जस्ता क्याप्सन लेख्छन्। यसको मुख्य उद्देश्य यस्ता व्यक्तिहरूलाई समाजमा चिनाउने र उनीहरूलाई लाजमर्दो स्थितिमा पुर्याउने देखिन्छ। यो केवल व्यक्तिगत प्रहार होइन, यो त पार्टीको आडमा देशलाई खोक्रो पार्ने प्रवृत्तिविरुद्धको सामूहिक प्रहार हो।
गत भदौ २३ र २४ गते भएको ’जेनजी आन्दोलन’ अघि युवाहरूले ’नेपोबेबी ट्रेन्ड’ चलाएका थिए। त्यसले पुराना दलका नेताहरूलाई सार्वजनिक रूपमा हिँड्न असहज बनाएको थियो र अन्ततः तत्कालीन एमाले–कांग्रेस गठबन्धन सरकार ढलेको थियो। एक टिकटक प्रयोगकर्ता ’कान्छा एफएफएक्स अफिसियल’ ले भनेका छन्, “नेपो बेबी र करप्ट पोलिटिसियनहरूलाई एक्सपोज गरियो र देशमा ठूलो परिवर्तन आयो। अब नेपालमा फेरि नयाँ ट्रेन्ड सुरु भएको छ, जसको नाम रहेको छ– झोले ट्रेन्ड। जहाँ नेतासँग लिङ्क भएका र व्यक्तिगत रूपमा चिनजान भएकाको फोटो–भिडियो एक्सपोज गरिन्छ।“ उनी जतिसक्दो नेताका झोलेहरूलाई पेल्न आह्वान गर्छन्, किनभने “यदि यिनीहरूलाई चिनेनौँ भने हामीलाई नै अप्ठ्यारो पर्छ।“ यो भनाइले युवाहरू कति सचेत र निर्णायक छन् भन्ने कुरा स्पष्ट पार्छ। उनीहरू आफ्नो भविष्यप्रति संवेदनशील छन् र यसलाई कुनै पनि हालतमा मुठ्ठीभर भ्रष्टहरूको हातमा सुम्पिन चाहँदैनन्।
किन चर्कियो यो ट्रेन्ड?
त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका उपप्राध्यापक दिपेश घिमिरे ’एक्स्पोज झोले’ ट्रेन्डलाई युवाहरूको राजनीतिक नेतृत्वप्रतिको गहिरो आक्रोशको रूपमा व्याख्या गर्छन्। जेनजी आन्दोलनमा धेरै युवाले ज्यान गुमाउँदा र यत्रो परिवर्तन हुँदा पनि राजनीतिक दलहरू सुध्रने कुनै छनक नदेखिएपछि यो अभियान सुरु भएको उनको भनाइ छ। यो केवल एउटा विद्रोह मात्र होइन, यो त निराशाबाट उत्पन्न भएको एउटा भयानक आँधी हो, जसले पुरानो राजनीतिक संरचनालाई ध्वस्त पार्ने सामथ्र्य राख्छ। घिमिरेका अनुसार पछिल्लो आन्दोलनले राजनीतिक दलको नेतृत्वमा पुस्तान्तरणको ठूलो अपेक्षा राखेको थियो। “एउटै नेतृत्वले लामो समय सत्ता कब्जा गर्दा भ्रष्टाचार र सिस्टमको दुरुपयोग बढ्यो,“ घिमिरे भन्छन्, “युवाहरूले अपेक्षा गरेको राजनीतिक परिवर्तन र पुस्तान्तरणको माग पूरा नहुँदा यो आक्रोश सामाजिक सञ्जालमा देखिएको हो।“ ’झोले हुनुमा गर्व छ’ भन्दै केही पुराना दलका कार्यकर्ताका भिडियो र फोटो आएपछि त्यसको काउन्टरमा यो अभियान चलेको घिमिरे बताउँछन्। यो गर्व ’झोले’ हरूको अज्ञानता र पार्टीप्रतिको अन्धभक्तिलाई मात्र होइन, देश र जनताप्रतिको धोकालाई पनि उजागर गर्छ।
को–को छन् युवाको निसानामा?
यो ट्रेन्डमा सबैभन्दा धेरै एमाले नेता महेश बस्नेत टार्गेटमा देखिएका छन्। उनका विभिन्न तस्वीर र भिडियोहरूलाई व्यंग्यात्मक गीत र क्याप्सनका साथ सार्वजनिक गरिएको छ। उनको उत्तेजक भाषण, गुन्डागर्दी शैली र व्यक्तिगत स्वार्थको राजनीतिले युवाहरूलाई झन् क्रुद्ध बनाएको छ। त्यस्तैगरी, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी नेता वर्षमान पुन लगायतका नेताहरूको आसपासमा रहेका कार्यकर्ताहरू पनि युवाहरूको निसानामा छन्। ’मनी, मनी मनी…’ जस्ता गीतहरू पृष्ठभूमिमा राखेर यी पोस्टहरू साझा गरिएका छन्, जसले भ्रष्टाचार र अनियमितताको गहिरो जरोलाई संकेत गर्छ। युवाहरूले अब बुझेका छन् कि यी ’झोले’ हरू केवल नेताका अनुयायी मात्र होइनन्, उनीहरू भ्रष्टाचारको जालो फैलाउने अदृश्य हातहरू पनि हुन्। उनीहरूको अनुहार सार्वजनिक गर्दा मात्र यो जालो तोड्न सकिन्छ।
युवाहरूको अल्टिमेटमः “आमाबुबालाई सम्झाउनू“
टिकटक प्रयोगकर्ताहरूले आफ्ना अभिभावकहरूलाई समेत सम्झाउन आह्वान गरेका छन्। एमबीसी भ्लग्स नामक ह्यान्डलबाट पोस्ट भएको एक भिडियोमा एमालेको ¥याली देखाउँदै भनिएको छ, “यसभित्र ज–जसका बा–आमा हुनुहुन्छ, आजै फोन गरेर सम्झाइहाल्नू। विदेशमा हुनुहुन्छ वा कता हुनुहुन्छ, आजै फोन गरेर बा–आमालाई सम्झाइहाल्नू। अब पनि यसरी तपाईंका बा–आमा पार्टीको झन्डा बोकेर नेताको जयजयकार गर्दै हिँड्नुहुन्छ भने हाम्रो भविष्य बर्बाद हुन्छ।“ यो केवल एउटा भावनात्मक अपील मात्र होइन, यो त पुस्तागत अन्तरविरोधको स्पष्ट अभिव्यक्ति हो।
युवाहरू आफ्ना अभिभावकहरूलाई विगतको मोहबाट बाहिर निस्कन र देशको भविष्यका लागि एक हुन आह्वान गरिरहेका छन्। उनीहरू भन्छन्, यदि यही पार्टीका बुढा नेताहरू फेरि आए भने नयाँ पुस्ताले दुःख पाउने भएकोले जतिसक्दो झोलेहरूलाई एक्सपोज गर्नुपर्छ। यो अल्टिमेटमले युवाहरूको दृढ संकल्पलाई देखाउँछ। उनीहरू अब परम्परागत राजनीतिको दलदलमा फँस्न चाहँदैनन्।
फेरी युवाहरु सडकमा आयदैछन् ?
’जेनजी आन्दोलन’ ले सरकार परिवर्तन गराएको पृष्ठभूमिलाई हेर्दा यो ’झोले ट्रेन्ड’ पनि सडक आन्दोलनको संकेत हुन सक्छ। युवाहरूको आक्रोश र असन्तुष्टि सामाजिक सञ्जालमा मात्र सीमित नरही सडकसम्म पुग्ने सम्भावना बलियो देखिन्छ। उपप्राध्यापक घिमिरे पनि समाज जागिसकेको अवस्थामा पुराना दल र नेतृत्व आत्मालोचित भएर सुध्रनुको विकल्प नरहेको बताउँछन्। यदि नेतृत्वले युवाहरूको आवाजलाई बेवास्ता गरिरहने हो भने सडकमा अर्को जनआन्दोलन देखिन सक्ने खतरा टड्कारो छ। यो आन्दोलन केवल सरकार परिवर्तनमा मात्र सीमित नभई, सम्पूर्ण राजनीतिक प्रणाली र संरचनालाई नै परिवर्तन गर्ने क्षमता राख्छ।
