काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित यस संस्थाले विगतका वर्षहरूमा झैँ यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरू अघि सारेको हो। गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले मानवीय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरू आयोजना गरेको थियो। बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार बिरुवा रोप्ने कार्यक्रम घोषणा गरेको थियो।
गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरूको सहकार्यमा वातावरण संरक्षण, जीविकोपार्जन तथा आयआर्जनमा उपयोगी करिब २१ हजार बिरुवा रोपण गरेको थियो। १९औँ वार्षिकोत्सवका अवसरमा बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिँदै दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी यी कार्यक्रमहरू देशव्यापी रूपमा सञ्चालन गर्ने जनाएको छ।
यी कार्यक्रमहरूमध्ये ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ एक महत्वपूर्ण कार्यक्रम हो। जसअन्तर्गत बैंकले सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ। शिविरमा स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्सको उपचार तथा आवश्यक औषधि वितरण गरिनेछ। यसरी शिविरका क्रममा प्रारम्भिक अवस्थामा पहिचान भएका तथा गम्भीर रोग देखिएका महिलाहरूको शल्यक्रिया उपचार दोस्रो चरणमा गरिने बैंकले जनाएको छ। विगत पाँच वर्षदेखि नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन्।
त्यसैगरी, बैंकले सातवटै प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ। गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित यस कार्यक्रमले आर्थिक अभावका कारण उपचारबाट वञ्चित दुर्गम क्षेत्रका नागरिकहरूको आँखासम्बन्धी समस्याको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। यसका साथै, बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० जना गरिब, विपन्न तथा न्यून आय भएका विद्यार्थीहरूको आँखा जाँच गरी आवश्यक चस्मा निःशुल्क वितरण गर्नेछ।
त्यसैगरी, सातवटै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गरी गरिब तथा न्यून आय भएका समुदायलाई स्वास्थ्य सेवा प्रदान गरिनेछ। जटिल तथा दीर्घ रोगका बिरामीहरूको उपचारका लागि स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा निश्चित आर्थिक सहयोग पनि उपलब्ध गराइने बैंकले जनाएको छ। शिक्षा क्षेत्रमा बैंकले कक्षा ६ देखि १२ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। विगत पाँच वर्षमा १४० छात्रा लाभान्वित भइसकेको यस कार्यक्रमलाई यस वर्ष थप ७७ छात्रासम्म विस्तार गरिनेछ।
दुर्गम विद्यालयहरूमा पुस्तकालय निर्माण, १,००० जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम तथा सामग्री हस्तान्तरण जस्ता कार्यक्रमहरू पनि समावेश छन्। त्यसैगरी, अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमफिल तथा पीएचडी तहको शोध तथा अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिनेछ। वातावरण संरक्षणतर्फ ‘ग्लोबल ग्रिन स्कूल’ कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ। साथै स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिनेछ। रक्तदान कार्यक्रम मुख्य शहरहरूमा आयोजना गरिनेछ भने आश्रम तथा बालगृहमा आश्रित बालबालिकालाई खाद्यान्न तथा अन्य आवश्यक सामग्री सहयोग प्रदान गरिनेछ।
सूचना प्रविधिको विकास र आधुनिक प्रविधिको अत्यधिक प्रयोगसँगै बालबालिकामा देखिन थालेको अटिजमसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सहयोग प्रदान गरिनेछ। त्यसैगरी, स्वस्थ र अनुशासित युवा जनशक्ति निर्माण गर्दै राष्ट्र निर्माणमा योगदान पुर्याउने उद्देश्यले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदाय तथा विद्यालयलाई खेलकुद सामग्री वितरण गरिनेछ।
