स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो बढेसँगै उच्च जोखिम समूहका व्यक्तिहरूलाई अत्यधिक जाडोमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्ला दिनमा तराईदेखि पहाडसम्म तापक्रममा उल्लेख्य गिरावट आएकाले रुघाखोकी, निमोनिया, श्वासप्रश्वाससम्बन्धी समस्या तथा हाइपोथर्मियाको जोखिम बढेको मन्त्रालयको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अत्यधिक चिसो समयमा यी समूहका व्यक्तिहरू अनावश्यक रूपमा बाहिर ननिस्कनुहोस् । घरभित्रै न्यानो रहने व्यवस्था मिलाउनुहोस् र पर्याप्त न्यानो कपडा लगाउनुहोस् ।’
मन्त्रालयले न्यानो झोलिलो खानेकुरा खान, प्रशस्त पानी पिउन र कोठामा हिटर प्रयोग गर्दा सुरक्षित तरिकाले प्रयोग गर्न पनि सुझाव दिएको छ । साथै, लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ ।
देशका विभिन्न भागमा न्यूनतम तापक्रम माइनसमा झरिसकेको र आगामी दिनमा थप चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाको भविष्यवाणी छ । यस्तो अवस्थामा स्वास्थ्य जोखिमबाट बच्न मन्त्रालयले सबैमा सचेतना अपनाउन अपिल गरेको छ ।
