भेनेजुएलाकी प्रमुख विपक्षी नेता तथा २०२५ नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेकी छन् ।
गत बिहीबार व्हाइट हाउसमा भएको निजी भेटका क्रममा मचाडोले यो ऐतिहासिक तथा प्रतीकात्मक कदम चालेकी हुन् । उनले यो पदक ट्रम्पलाई भेनेजुएलाको स्वतन्त्रता तथा लोकतन्त्रप्रति उनको ‘अनुपम प्रतिबद्धता’ को सम्मानस्वरूप दिएको बताएकी छन् ।
भेटपछि पत्रकारहरूसँग कुरा गर्दै मचाडोले भनिन्, “मैले अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको पदक प्रस्तुत गरेँ । यो २०० वर्षअघि सिमोन बोलिभारले जर्ज वाशिङ्गटनको तस्वीर अङ्कित पदक प्राप्त गरेको घटनालाई सम्झाउने ऐतिहासिक कदम हो । यो भेनेजुएलाको स्वतन्त्रताप्रति राष्ट्रपति ट्रम्पको विशेष योगदानको कदर हो ।”
राष्ट्रपति ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा यो कुरालाई पुष्टि गर्दै लेखेका छन्, “आज भेनेजुएलाकी मारिया कोरिना मचाडोसँग भेट्न पाउँदा निकै सम्मान महसुस भयो । उनी अद्भुत महिला हुन् जसले धेरै कष्ट भोगेकी छन् । मारियाले मेरो कामको लागि आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रस्तुत गरिन् । यो आपसी सम्मानको सुन्दर संकेत हो । धन्यवाद मारिया !”
यद्यपि, नोबेल कमिटीले स्पष्ट पारेको छ कि नोबेल शान्ति पुरस्कारको उपाधि वा सम्मान कसैलाई हस्तान्तरण, साटासाट वा सेयर गर्न सकिँदैन । कमिटीले भनेको छ, “एकपटक पुरस्कार घोषणा भएपछि यो फिर्ता लिन, साट्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन ।”
मारिया कोरिना मचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलामा लोकतान्त्रिक अधिकारको प्रवद्र्धन तथा तानाशाहीबाट शान्तिपूर्ण लोकतान्त्रिक संक्रमणका लागि उनको अथक संघर्षका लागि प्रदान गरिएको थियो ।
यो घटनाले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ, विशेष गरी अमेरिकी सैन्य हस्तक्षेपपछि भेनेजुएलाको राजनीतिक भविष्यका सन्दर्भमा ।
