काठमाडौं । झापा भद्रपुरमा १८ पुस २०८२ मा दुर्घटनामा परेको बुद्ध एयरको जहाज दुर्घटनाको कारण नखोली सरकारले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । सरकारले वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा तोक्दै छानबिन समिति बनाएको थियो । समितिको प्रारम्भिक प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । प्रतिवेदनमा घटना विवरणमात्र प्रस्तुत गरिएको छ ।
दुर्घटनाको कारण विस्तृत विश्लेषण र सबै प्रमाण अध्ययन सकिएपछि सार्वजनिक हुने अन्तिम प्रतिवेदनमा आधिकारिक कारण सार्वजनिक गरिने समेत प्रारम्भिक प्रतिवेदनमा लेखिएको छ ।
अहिले ककपिट भ्वाइस रेकर्डर, फ्लाइट डाटा रेकर्डर र एटीसी रेकर्डिङ प्राप्त गरी त्यसको अध्ययन थालिएको छ । अन्तर्वार्तामा लिइएका बयान, प्रत्यक्षदर्शीका भनाइ र अन्य कागजात तथा तथ्यांक अनुसन्धान तथा अध्ययन क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । यसअघि हवाई दुर्घटना जाँचका प्रारम्भिक प्रतिवेदनमा सम्भावित कारण उल्लेख गर्ने प्रचलन थियो ।
सोही दिन ‘एटीआर ७२–५००’ जहाज काठमाडौंबाट भद्रपुरस्थित चन्द्रगढी विमानस्थलका लागि उडेको थियो । सोही जहाज धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका सदस्यसहित ५६ यात्रु सवार थिए । जहाजको नाइट स्टप प्लान भद्रपुरमै थियो । प्रारम्भिक प्रतिवेदन अनुसार जहाजमा गम्भीर क्षति पुगेको छ । जहाजको मुख्य र अगाडिको ल्यान्डिङ गियर, प्रोपेलर र इन्जिनहरूमा गम्भीर क्षति पुगेको पाइएको छ ।
