मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंका धारामा वितरण थालिएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार आइतबार महांकालचौर पोखरीमा आइपुगेको पानी धारामा वितरण गर्न थालिएको हो।
सुरूङ, सुनदरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा विछ्याइएको थोक वितरण पाइपलाइनहरूको सफल परीक्षणपछि मेलम्चीको पानी काठमाडौं आइपुगेको हो।
पहिलो चरणमा चार करोड लिटर पानी महांकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरूमा जम्मा हुने लिमिटेडले जनाएको छ।
आइतबार जम्मा भएको पानीको भल्वहरू खोलिएको छ। ती भल्वहरूबाट देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोर्ट हाइट, धनवन्तरीमार्ग लगायत क्षेत्रका धारामा पानी वितरण सुरू भएको छ।
हाल पुराना पानी पोखरीहरूमा पुरानै पाइपलाइन र धाराहरूमा पानी दिइने छ।
दोस्रो चरणमा बालाजुस्थित पानी पोखरीमा ६.५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्जका पानी पोखरीमा ८.५ करोड लिटर, चौथो चरणमा कीर्तिपुर, ठिमी, भक्तपुरस्थति पोखरीमा समेत गरेर १७ करोड लिटर पानी जम्मा हुने छ।
ती पोखरीबाट काठमाडौं उपत्यकाको चक्रपथभित्र र आसपासका क्षेत्रमा पानी वितरण गर्ने योजना रहेको शाक्यले बताए।
‘यस कम्पनीबाट प्राप्त हुने पानीको परिमाणको आधारमा पानी वितरण तालिका तयार गरी सकभर दैनिक वा दिन बिराएर धाराहरूमा पानी वितरण गरिने छ,’ शाक्यले भने।
त्यसको जानकारी फेसबुक, सूचना, जनसम्पर्क इकाइमार्फत दिइने शाक्यले बताए।
लिमिटेडले तालिका जारी गरी पानी वितरणबारे जानकारी पनि दिएको छ।
जसअनुसार आइतबार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ। सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटीमा वितरण हुने लिमिटेडले जनाएको छ।
यसैगरी, सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुने लिमिटेडले जनाएएको छ।
मध्याह्न १२ बजेदेखि साँझ ७ बजेसम्म भने देवकोटा सडक, बत्तीसपुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा वितरण हुने बताइएको छ।
यसैगरी, साँझ ७ बजेदेखि ८ बजेसम्म महांकालचौरीको ट्यांकी भरिने छ। राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी वितरण हुने छ।
यसैगरी, सोमबार राति नै १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ। सो पानी २ बजेदेखि अर्को दिन बिहान ८ बजेसम्म इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्साल क्षेत्रमा वितरण गरिने छ।
सोही दिन ८ बजेदेखि १० बजेसम्म ट्यांकी भरेर १० देखि ४ बजेसम्म बानेश्वर, सीनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी वितरण हुने छ।
त्यही दिन बिहान १० बजेदेखि ४ बजेसम्म जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटी डोलमा पानी वितरण हुने छ।
अपराह्न ४ देखि ५ बजेसम्म ट्यांकीमा पानी भरेर फेरि साँझ ५ देखि मध्यराति १२ बजेसम्म चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी वितरण हुने लिमिटेडले जनाएको छ।
सन् १९७२ मा विश्व बैंकको सहयोगमा काठमाडौं उपत्यकाको खानेपानीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न एउटा गुरुयोजना तयार भएको थियो। उक्त गुरुयोजना यथास्थितिमा कार्यान्वयन हुन नसक्दा योजना अघि बढ्न सकेन।
– सन् १९८८ मा विन्नी एन्ड पार्टनर्स नामक बेलायती अन्तर्राष्ट्रिय संस्थाले उपत्यकाभित्र र बाहिरका २० वटा सतहगत सम्भाव्य पानीका स्रोत अध्ययन गरेको थियो। मेलम्ची नदीलाई सबैभन्दा उत्तम सम्भाव्य स्रोतको रूपमा पहिचान गरेको थियो।
– सन् १९९२ मा स्मेक कन्सल्टेन्ट अस्ट्रेलियाले काठमाडौंका लागि मेलम्ची डाइभर्सन स्किम तथा उपत्यकाभित्रका स्रोतहरू समेत गरी विकल्पहरू अध्ययन गरेको थियो। जसमा ग्राभिटी सिस्टमका आधारमा मेलम्ची नदी र लामटाङ नदी, पम्पिङका आधारमा इन्द्रावती, त्रिशुली र कुलेखानी, इम्पाउन्डिङका आधारमा रोशी खोला र कुलेखानीको अध्ययन गरेको थियो। उपत्यकाभित्रका बागमती, कोड्कु, बल्खु र नख्खु नदीको समेत अध्ययन गरिएको थियो।
– विभिन्न अध्ययन र अनुसन्धान गरी उत्कृष्ट स्रोत मेलम्ची नै हो भन्ने ठहर भएको थियो। यस आयोजनाले काठमाडौं, मेलम्ची र मण्डन उपत्यकामा रहेका धार्मिक, सांस्कृतिक, वातावरणीय पक्षमा सुधार तथा स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने एवं आर्थिक, सामाजिक र प्राविधिक दृष्टिकोणबाट समेत उपयुक्त देखिएकाले काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा पर्याप्त पानी आपूर्ति हुन सक्ने स्रोतको रूपमा मेलम्चीलाई ठहर गरियो।
– यिनै अध्ययनका आधारमा एसियाली विकास बैंकको संयोजकत्वमा नर्वेजियन विकास संस्था (नोराड) स्विडिस विकास संस्था (सिडा), जापानी संस्था (जेविक) र विश्व बैंकबाट मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि विस्तृत अध्ययन कार्य सुरु भएको थियो। त्यसपछि दातृ निकायहरूसँग लगानीका लागि नेपाल सरकारबाट अनुरोध गरिएको र दातृ निकायहरूको आ-आफ्ना किसिमका जटिल तथा बाध्यात्मक सर्त राखिएका कारण तत्कालीन अवस्थामा आयोजना निर्माणको कार्य सुरु हुन सकेन।
– आयोजनाको विकास क्रम हेर्दा आर्थिक वर्ष २०५५/५६ (सन् १९९८ अगसट) मा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयमातहत रहने गरी मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो।
– सन् १९९९ मा विश्व बैंक तथा नरप्लानको सहयोगमा मेलम्ची आयोजनाको सम्भाव्यता अध्ययन भएको थियो। सोही अध्ययनहरूकै आधारमा २००१ मा एसियाली विकास बैंक आयोजना लगानीमा सहमत भई ऋण सम्झौता भएको हो।
– सन् २००० मा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि प्रारम्भिक चरणको कार्य सम्पन्न गरी २००१ मा एसियाली विकास बैंकले १२ कराेड अमेरिकी डलरबराबरको ऋण सम्झौता स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना विधिवत सुरु भएको थियो।
– आयोजना सञ्चालन तथा सम्पन्न गर्ने उद्देश्यले सर्वप्रथम सन् २००२ मा आयोजनाको विस्तृत अध्ययन तथा डिजाइन गरी आयोजनाको प्रारम्भिक लागत अनुमान भएको थियो। सोबमोजिम आयोजनाको प्रारिम्भक लागत जम्मा ४६ करोड ४० लाख डलर रहेको थियो।
– मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरु भएको हो। सुरुमा यो आयोजना सन् २००७ मा सकिन्छ भनिएको थियो। सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो पुर्याइएको थियो।
– सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो। चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो।
– कम्पनी टाट पल्टिएको कारण देखाएर सन् २०१९ मा सिएमसी नेपालबाट भाग्यो। त्यसपछि बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइयो।
-सन् २०२१ मार्च २८ मा मेलम्चीको पानी काठमाडौं आइपुग्यो।
