गुल्मीका उदयमान गायक तथा संगीतकार कृष्ण खनाल र चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘मुटु जलिजलि’ सार्वजनिक गरिएको छ। भावनात्मक प्रेमकथामा आधारित यस गीतले सार्वजनिक भएसँगै अनलाइन प्लेटफर्ममा राम्रो प्रतिक्रिया पाउन थालेको छ।
गीतको भिडियो लोकप्रिय मोडल तथा निर्देशक आशिर प्रताप जंगले निर्देशन गरेका हुन्। जंगकै निर्देशनमा तयार गरिएको भिडियोमा स्वयं आशिर प्रताप जंगसँगै आयुष्मा कार्की र खेम्स पोखरेलको अभिनय देख्न सकिन्छ। गीतको भाव र कथावस्तुलाई जीवन्त बनाउने गरी निर्देशन गरिएको भिडियो पक्षलाई दर्शकले मन पराएका छन्।
गीतका शब्द तथा संगीत कृष्ण खनालकै सिर्जना हुन् भने संगीत संयोजन कृष्ण भञ्जाले गरेका छन्। गीतमा हेमन्त कान्छा रसाइलीको सरंगी वादन रहेको छ। अडियो मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका हुन् भने गीत शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
