इजरायल र गाजामा रहेका प्यालेस्टाइनी विद्रोही समूहबीचको रकेट हानाहान अहिले पनि जारी छ। अघिल्लो साताको सोमबारदेखि सुरू भएको रकेट हानाहान इजरायली सेना र गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले जारी राखेका छन्।
शनिबार इजरायलले गाजामा रहेको एउटा १५ तले भवनलाई निशाना बनाएर हवाई आक्रमण गरेको छ। अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) र कतारी टेलिभिजन च्यानल अलजजिराको कार्यालय रहेको उक्त भवनमा किन आक्रमण गरिएको हो पुष्टि भइसकेको छैन। इजरायली सेनाले उक्त भवनमा हमासको पनि कार्यालय रहेकाले आक्रमण गरेको जनाएको छ। तर एपी र अलजजिराका पत्रकारहरूले त्यहाँ हमास समूहको कुनै कार्यालय नभएको दाबी गरेका छन्।
आक्रमण हुनभन्दा पहिला नै भवन छोड्न चेतावनी आएकाले उक्त भवनमा रहेका पत्रकारहरू सुरक्षित रहेको बताइएको छ।
अलजजिरा टेलिभिजनले उक्त भवन ढल्दै गरेको लाइभ भिडिओ प्रसारण गरेको थियो।
