काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका नेताहरुसँग संगठन सुदृढीकरणका विषयमा सुझाव माग गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश कमिटीका इन्चार्ज/सह–इन्चार्ज/अध्यक्षलाई परिपत्र गरेका हुन् ।
“हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संगठनसम्बन्धी सुझाव कार्यदलको बैठक मिति २०७८ जेठ ३ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा बस्यो । बैठकले लिएका निर्णयहरु अविलम्ब कार्यान्वयन गर्नू/गराउनुहुन यो परिपत्र जारी गरिएको छ,” परिपत्रमा भनिएको छ । राय–सल्लाह र सुझाव सात दिनभित्र पठाउन निर्देशन दिइएको छ ।परिपत्रमा पार्टी संगठनको नीति, विधि र पद्दतिको विकास र कार्यान्वयनको सम्बन्धमा विगतका कमी–कमजोरीहरु के–के रहन गए र त्यसको समाधानका उपायहरु के–के हुनसक्छन् ?, संगठनलाई व्यवस्थित गर्न आर्थिक व्यवस्थापन कसरी गर्ने ? आचार र व्यवहारका सन्दर्भमा न्यूनतम पालना गर्नुपर्ने विषयहरु के–के हुनसक्छन् ?लगायत सुझाव मागिएको छ ।
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ‘संगठन सम्बन्धि सुझाव कार्यदलको बैठक मिति २०७८ जेठ ३ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा बस्यो । बैठकले लिएका निर्णयहरु अबिलम्ब कार्यान्वयन गर्नु /गराउनु हुन यो परिपत्र जारी गरिएको छ । • पार्टी, जनवर्गीय संगठन, मोर्चा एवम् सामुदायिक संगठन सम्बन्धि समग्र सुझाव सबै प्रदेश, केन्द्रीय निकाय र जनवर्गीय, मोर्चा, सामुदायिक संगठनहरुले निम्न बुदाहरुको आधारमा राय सल्लाह र सुझाव सात दिनभित्र पार्टी केन्द्रीय कार्यालयको इमेल ठेगाना : [email protected] मा पठाउने । (क) पार्टी संगठनको नीति, विधि र पद्दतिको विकास र कार्यान्वयनको सम्बन्धमा विगतका कमीकमजोरीहरु के-के रहन गए र त्यसको समाधानका उपायहरु के-के हुन सक्छन् ? (ख) पार्टीलाई आजको चुनौति सामना गर्न सक्ने गतिशील, जनप्रीय र क्रान्तिकारी पार्टी बनाउन के गर्नु पर्ला ? (ग) संगठनमा पात्र र व्यक्तिहरु छनोट गर्दा के कस्तो मापदण्डहरु अपनाउने ? (घ) संगठनलाई व्यवस्थित गर्न आर्थिक व्यवस्थापन कसरी गर्ने ? आचार र व्यवहारका सन्दर्भमा न्यूनतम् पालना गर्नुपर्ने विषयहरु के-के हुन सक्छन् ? (ङ) जनपरिचालन र जनसंगठनको लागि के कस्तो विधि र उपाय अपनाउने ? (च) संरचना :(i) केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, विभिन्न केन्द्रीय आयोग, केन्द्रीय विभाग र राष्ट्रिय परिषद्का लागि प्रस्तावित विधान अनुसारको मापदण्डको आधारमा सम्भावित नामहरु सुझावको रुपमा पठाउने । (ii) जनवर्गीय, मोर्चा र सामुदायिक संगठनहरुको संरचना एवम् जिम्मेवारी सम्बन्धि सुझावहरु पठाउने। (iiii) विभिन्न तहका पदाधिकारीको सम्बन्धमा प्रस्तावित विधानमा कस्तो मापदण्ड राख्ने ? पार्टीलाई नयाँ जीवन कसरी दिन सकिन्छ ? पार्टीलाई सुदृढ, गतिशील र जनतासँग जोड्न कसरी सकिन्छ ? आदि विषयलाई विशेष ध्यानमा राखी सुझाव पठाउने । (छ) सुझाव पठाउँदा सम्बन्धित प्रदेश समितिका सचिवालय र उक्त प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरु बीच विभिन्न माध्यमबाट आपसी छलफल गरेर केन्द्रीय कार्यालयमा पठाउने । त्यस्तै प्रदेश समिति र जिल्ला पदाधिकारीको लागि सिफारिस गर्दा जिल्ला समितिको सचिवालय र उक्त जिल्लामा कार्यरत प्रदेश समिति सदस्यहरु बीच विभिन्न माध्यमबाट छलफल गरी प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा पठाउने । (ज) जनवर्गीय, मोर्चा र सामुदायिक संगठनहरुले आफ्नो सुझाव प्रयाक्सन इन्चार्ज, सहइन्चार्ज र केन्द्रीय समितिको सचिवालय वा सो सरहको सदस्यहरुको विभिन्न माध्यमबाट आपसी छलफल गरी केन्द्रीय कार्यालयमा पठाउने ।
कान्तिकारी अभिवादनसहित !
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
