एजेन्सी – इंग्ल्यान्ड राष्ट्रिय टोली तथा इंग्लिस क्लब लिभरपुलका युवा डिफेन्डर एलेक्जान्डर आर्नोल्ड ६ साता मैदान बाहिर रहने भएका छन् । ६ साता मैदान बाहिर रहने भएपछि उनले अर्काे साताबाट युरोपियन च्याम्पियनसिप गुमाउने भएका छन् ।
इंग्ल्यान्डले बुधबार युरोपियन च्याम्पियनसिप तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अस्ट्रियालाई १–० ले पराजित गर्दा आर्नोल्डको चोट बोकेका थिए । २२ वर्षीय राइट ब्याक आर्नोल्डले खेलको ९०औं मिनेटमा तिघ्रामा चोट बोकेर मैदान छाडेका थिए । उनको चोटको स्क्यान रिपोर्टका आधारमा उनले कम्तीमा ६ साता आराम गर्नुपर्नेछ ।
प्रशिक्षक गारेथ साउथगेटले दुई दिन अघिमात्र २६ सदस्यीय टोलीको घोषणा गर्दा आर्नोल्डसहित चार राइट ब्याकलाई इंग्ल्यान्ड टोलीमा राखेर आश्चर्यजनक निर्णय गरेका थिए । अब उनको विकल्पमा प्रशिक्षक साउथगेटले आरोन राम्सडेल, जेम्स वार्ड प्राउस, जेसे लिंगार्ड, मेसन ग्रीनवुड, बेन ह्वाइट, बेन गडफ्रे र ओली वाट्किन्स मध्ये एक जनालाई टोलीमा समेट्नेछन् ।
इंग्ल्यान्ड एफएले विज्ञप्ति जारी गर्दै उनले युरोकप गुमाउने पुष्टि गरेको छ । इंग्लिस क्लब लिभरपुलले पनि आफ्ना डिफेन्डरको उपचार एनफिल्डमा गर्ने बताएका छन् । अब उनले एनफिल्डमा उपचार र रिह्याविलिटेसनसँगै प्रि–सिजनको लागि तयारी थाल्नेछन् ।
