काठमाडौं । रेडबुल—एउटा यस्तो नाम, जसले आजका युवा र बालबालिकाको नसा–नसामा शक्तिको भ्रम छरिरहेको छ। कर्पोरेट घरानाहरूले करोडौँको विज्ञापन गर्दै भनिरहेका छन्, ‘यो पिएपछि पखेटा पलाउँछ, थकान मेटिन्छ र मस्तिष्क तेज चल्छ।’ तर, के यो सत्य हो ? अहँ, पटक्कै होइन। यो कुनै ‘इनर्जी ड्रिंक’ होइन, यो त आकर्षक नीलो र चाँदी रङको बट्टामा प्याक गरिएको शुद्ध ‘लिक्विड डेथ’ अर्थात् तरल मृत्यु हो। विकसित देशहरूले जसलाई बालबालिका, गर्भवती महिला र मुटुका बिरामीका लागि ‘विषसमान’ घोषणा गरिसकेका छन्, नेपालमा त्यही पेय पदार्थ पानी जस्तै बगाइँदैछ। यो अमृत होइन, यो त एक असाध्यै खतरनाक केमिकलहरूको झोल हो, जसले मानिसको स्नायु प्रणाली र मुटुलाई भित्रभित्रै खोक्रो बनाइरहेको छ।
एउटा रेडबुलको बट्टाभित्र कफीको तुलनामा तीनदेखि चार गुणा बढी क्याफिन, अत्यधिक चिनी, टोरिन र ग्वाराना जस्ता रसायनहरू भरिएका हुन्छन्। यी तत्वहरूले शरीरलाई वास्तविक ऊर्जा दिने नभई शरीरको प्राकृतिक प्रणालीलाई जबर्जस्ती झड्का दिएर मुटुको धड्कनलाई अस्वाभाविक रूपमा बढाउने काम गर्छन्। यो यस्तो पेय हो, जसले बालबालिका र किशोरकिशोरीहरूमा डिहाइड्रेसन (जलवियोजन), अनिन्द्रा, छटपटी, उच्च रक्तचाप र कलेजो तथा मिर्गौलामा गम्भीर क्षति पु¥याइरहेको छ। वयस्कहरूको लागि समेत हानिकारक मानिएको यो क्याफिनको ककटेल, विकासोन्मुख मस्तिष्क र कलिलो शरीर भएका बालबालिकाका लागि साक्षात् विष हो। तर, विडम्बना ! नेपालका स्कुल र कलेज वरपरका पसलहरूमा खाजाको पैसाले बालबालिकाहरू निर्बाध रूपमा यो विष खरिद गरिरहेका छन्।
नेपालमा रेडबुलको ‘व्यापारिक दादागिरी’ कतिसम्म हावी छ भने, यसको बट्टामा ‘यो पेय पदार्थले मुटुको धड्कन बढाउन सक्छ’ वा ‘बालबालिकाका लागि हानिकारक छ’ भन्ने सामान्य वैधानिक चेतावनीसमेत लेखिएको हुँदैन। उपभोक्तालाई अन्धकारमा राखेर पैसा छाप्ने यो कस्तो व्यापार हो ? अझ खतरनाक कुरा त के छ भने, नेपालका जिम जाने युवाहरूमाझ व्यायाम गर्नुअघि रेडबुललाई ‘प्रि–वर्कआउट’ को रूपमा पिउने एउटा आत्मघाती फेसन चलेको छ। शरीरले पहिल्यै कडा परिश्रम गरिरहेको बेला यो रसायनले मुटुलाई ओभरलोड गर्छ, जसका कारण जुनसुकै बेला ‘कार्डियाक एरेस्ट’ (हृदयघात) हुन सक्छ। यो स्वास्थ्यको लागि गरिएको कसरत होइन, मृत्युलाई दिइएको खुल्ला निमन्त्रणा हो।
त्यसैगरी, रात्रीकालीन जीवन र पार्टीहरूमा रेडबुललाई रक्सीसँग मिसाएर ‘ककटेल’ बनाई पिउने चलन त झनै भयानक छ। रक्सीले मानिसको स्नायु प्रणालीलाई शिथिल बनाउँछ भने रेडबुलको उच्च क्याफिनले उत्तेजित बनाउँछ। यी दुई विपरीत प्रकृतिका तत्वहरूको द्वन्द्वले मस्तिष्कलाई चरम भ्रममा पार्छ। मानिसले आफू कति थाकेको छु वा कति नसामा छु भन्ने पत्तै पाउँदैन र अन्ततः मुटु र कलेजो फेल भएर मृत्युको मुखमा पुग्छ। रेडबुलले ऊर्जा दिन्छ भन्ने भ्रममा बाँचिरहेकाहरूले बुझ्न जरुरी छ—यसले ऊर्जा होइन, शरीरको भित्री अंगहरूलाई निचोरेर अल्पकालीन उत्तेजना मात्र दिन्छ, जसको अन्तिम मूल्य तपाईंको आफ्नै जीवन हुन सक्छ । होसियार यदी तपाई पनि आफ्ना कलिला बालबालकालाई इनर्जी ड्रिंकका नाममा रेडबुल किनेर दिदैँ हुनुहुन्छ ? वा तपाईका बालबालिकाहरु यसको प्रयोग गरिरहेका त छैनन् । कतै तपाई आफै पनि इनर्जीको नाममा आफ्नै हातले रेडबुल नामको मन्दविष त पिइरहनु भएको छैन् । आकर्षक बट्टाभित्र लुकेको यो मृत्युलाई बेलैमा नरोक्ने हो भने यसले तपाई र तपाईको परिवारको जीवनमा ठुलो क्षती पुर्याउन सक्छ ।
रेडबुलले कसरी मान्छेको ज्यान लिइरहेको छ भन्ने केही उदाहरण हेरौं ।
’इनर्जी ड्रिंक’नामका रेडबुलले कसरी मानिसको ज्यान लिन्छ भन्ने कुराको सबैभन्दा हृदयविदारक प्रमाण क्यानडाका १५ वर्षीय किशोर ज्याकरी मिरोनको घटना हो। क्युबेक प्रान्तस्थित हिउँले ढाकिएको ‘मोरिन हाइट्स’ मा स्किइङ खेलिरहेका ज्याकरीले थकान मेट्न एउटा रेडबुल पिएका थिए। तर, त्यो एक बट्टा रेडबुल उनको जीवनको अन्तिम गल्ती बन्यो। ध्यान केन्द्रित गर्न गाह्रो हुने समस्याका कारण ‘बाइफेन्टिन’ नामक औषधि खाइरहेका ज्याकरीको मुटुमा औषधिको रसायन र रेडबुलको अत्यधिक क्याफिनले ‘घातक ककटेल’ को काम ग¥यो। अचानक उनको मुटुको धड्कन अनियन्त्रित भयो र ‘कार्डियाक एरिथमिया’ का कारण अस्पताल पु¥याउन नपाउँदै उनको ज्यान गयो।
यो घटनापछि क्यानडामा जनस्वास्थ्यको ठूलो बहस सुरु भयो। ज्याकरीका आमाबुबाको कडा कानुनी आन्दोलन र हजारौँ नागरिकको दबाबपछि क्युबेक सरकारले ऐतिहासिक ‘बिल ज्याकरी मिरोन ऐन’ पारित गर्ने तयारी गरेको छ। यो कानुन लागू भएपछि १६ वर्षमुनिका बालबालिकालाई रेडबुल बेच्ने पसल वा किनिदिने वयस्कलाई करिब ६० लाख नेपाली रुपैयाँसम्मको भारी जरिवाना हुनेछ। तर यो मृत्युको सूची ज्याकरीमा मात्र सीमित छैन। सन् २०११ मा न्युयोर्कका ३३ वर्षीय कोरी टेरी, बास्केटबल खेल्दा रेडबुल पिएर ढलेका आयरल्याण्डका १८ वर्षीय रोस कोनी, समुद्र तटमा रेडबुल पिउँदा हृदयघात भएकी एरिजोनाकी १६ वर्षीया लाना हामान, टेक्ससकी १७ वर्षीया लारिसा रोड्रिगेज र म्यारिल्याण्डकी १४ वर्षीया अनाइस फोर्नियर यी सबै रेडबुलकै कारण अकालमा मारिएका नामहरू हुन्।
विश्वभर एकपछि अर्को गर्दै यस्ता भयानक घटनाहरू बाहिर आउन थालेपछि लिथुआनिया, पोल्यान्ड, लाटभिया, हङ्गेरी, रोमानिया, टर्की, स्पेन र नर्वे जस्ता देशहरूले १८ र १६ वर्षमुनिका बालबालिकालाई इनर्जी ड्रिंक बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइसकेका छन्। कजाकस्तानले त २१ वर्षमुनिका लागि प्रतिबन्ध लगाएको छ। विश्व स्वास्थ्य संगठन र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स जस्ता प्रतिष्ठित संस्थाहरूले बालबालिकालाई यो पेय पदार्थ छुनसमेत नदिन कडा चेतावनी दिइसकेका छन्।
तर नेपालमा ? नेपालमा भने सरकार र नियामक निकायहरू बहुराष्ट्रिय कम्पनीको पैसा र प्रभावको अगाडि लाचार भएर घुँडा टेकिसकेका छन्। सन् २०७६ सालमा सरकारले जनस्वास्थ्यलाई ध्यानमा राख्दै क्याफिनयुक्त रेडबुल र सिन्थेटिक पेय पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर कर्पोरेट घरानाहरूको दबाब र लबिइङका कारण त्यो नियम कागजमै सीमित भयो। नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग यस्ता पेय पदार्थमा क्याफिन र केमिकलको मात्रा कति छ भनेर जाँच्ने न कुनै गतिलो संयन्त्र छ, न त इच्छाशक्ति नै। ‘फ्लेभर्ड ड्रिंक’ को आवरणमा खुलेआम विष बेचिरहँदा पनि सरकार मूकदर्शक बनेर बसेको छ।
क्यानडाले एउटा निर्दोष बच्चा गुमाएपछि पाठ सिकेर कानुन बदल्यो। तर नेपालले हाम्रा लाखौँ युवा र बालबालिकालाई मृत्युको मुखमा धकेल्ने यो कर्पोरेट दादागिरी कहिलेसम्म सहने ? अब सरकार, स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकाय निद्राबाट ब्युँझन ढिलो भइसकेको छ। नेपालमा पनि तत्काल १६ वा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई रेडबुललगायतका इनर्जी ड्रिंक बिक्री वितरणमा कानुनी रूपमै कडा प्रतिबन्ध लगाउनुपर्छ। हरेक बट्टा र विज्ञापनमा नेपाली भाषामै ‘स्वास्थ्यका लागि हानिकारक’ र ‘मुटुरोगी तथा बालबालिकाका लागि अयोग्य’ भन्ने वैधानिक चेतावनी अनिवार्य गरिनुपर्छ। विद्यालय, फिटनेस सेन्टर र खेलकुद मैदानहरूमा यसको प्रवेश निषेध गरिनुपर्छ। आकर्षक बट्टाभित्र लुकेको यो मृत्युलाई बेलैमा नरोक्ने हो भने, भोलि नेपालका घर–घरमा ज्याकरी मिरोनका जस्ता अकल्पनीय र दुःखद घटनाहरू दोहोरिने निश्चित छ।
