रूपन्देहीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृ/त्यु भएको छ। दुर्घटनामा अरू दुई जना घाइते भएका छन्।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बिहीबार दिउँसो ३ बजेतिर देवदहमा भएको दुर्घटनामा पश्चिम नवलपरासीकी २४ वर्षीया शान्ति भण्डारीको मृ/त्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको लु५८प ३९६५ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ गइरहेको लु२ख ३५७३ नम्बरको टिपरले देवदह नगरपालिका-९ भलुहीमा ठक्कर दिँदा भण्डारीको मृ/त्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएकी भण्डारीको उपचारको क्रममा बिहीबार राति देवदह मेडिकल कलेजमा मृ/त्यु भएको हो।
उक्त मोटरसाइकल उनकै श्रीमान २६ वर्षीय हरिप्रसाद पौडेलले चलाएका थिए। दुर्घटनामा पौडेल र उनका तीन वर्षीय छोरा अर्जुन घाइते भएका छन्।
उनीहरूको अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस्तै, रूपन्देहीकै तिलोत्तमामा बिहीबार राति गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ।
तिलोत्तमा-३ जानकीनगरमा राति १२ बजेतिर गुडिरहेको मोटरसाइकलबाट खसेर तिलोत्तमा-१५ पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापाको मृ/त्यु भएको हो।
उनी चढेको मोटरसाइकल र चालकको भने अहिलेसम्म पहिचान भएको छैन। प्रहरीले मोटरसाइकल र चालकको खोजी गरिरहेको जनाएको छ।
