काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि दार्चुलामा १ हजार भन्दा बढी कर्मचारी खटाइने भएका छन् ।
स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि जिल्लामा १ हजार ८१ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकारी प्रदिप सिंह धामीले जानकारी दिएका छन् । कर्मचारी खटाउनेबारे आन्तरीक तयारी पुरा भइसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लामा निर्वाचनका लागि २ सय ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, २ सय ४७ जना सहायक कर्मचारी, १ सय ३९ जना कार्यालय सहयोगी र ४ सय १७ जना स्वयम सेवक गरी १ हजार ८१ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयको तयारी रहेको छ । हाल कर्मचारीहरुको सूची तयार पारीसकेको तथा वैशाख २७ गते भित्र सम्बन्धित मतदान स्थल तथा मतदान केन्द्रहरुमा पुग्ने गरी खटाइने छन् ।
जिल्लाको महाकाली नगरपालिकामा जिल्ला न्यायाधिस एवं मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्य, ब्याँस गाउँपालिकामा कौशलेश्वर ज्ञवाली, दुहुँ गाउँपालिकामा बुद्धिलाल श्रेष्ठ, मालिकार्जुन गाउँपालिकामा ओम प्रसाद भट्टराई, लेकम गाउँपालिकामा ज्ञानेन्द्र पराजुली, शैल्यशिखर नगरपालिकामा हरि सिंह धामी, नौगाड गाउँपालिकामा गोबिन्दराज सेदाई, मार्मा गाउँपालिकामा लवराज जोशी र अपिहिमाल गाउँपालिकामा दिपक ज्ञवाली निर्वाचन अधिकृतका रुपमा खटिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार दार्चुलामा १ सय १० वटा मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्रहरु रहेका छन् भने जिल्लाभरि कूल ८८ हजार २ सय १५ जना मतदाता रहेका छन् ।
