एक पटकको कुरा हो। एकजना किसान माहुरीका चाकाहरू भएको ठाउँ पुगे। उनले माहुरीहरूका चाकामा धूवाँ लगाउने सोच बनाए। क्षणभरमै उनले धूवाँ लगाएर त्यहाँ भएका सबै माहुरी उडाइदिए। त्यसपछि हत्तपत्त उनले चाकाहरूबाट सबै मह निकाले। महलाई एउटा ठूलो भाँडोमा हाले। त्यसपछि सरासर आफ्नो घरतर्फ लागे।
दुर्भाग्य नै भन्नुपर्छ। आफूले गरेको गल्ती वा नियत खराब भन्ने मनमा लागेर उनी हतार–हतार हिँड्दा बाटोमा एउटा ढुंगोमा ठक्कर खान पुगे। उनी नराम्ररी लडे। फलतः महको भाँडो भुइँमा बजारियो। सबै मह पोखियो। मह भुइँमा मिसियो। भनौं, महमा माटो मिसियो। मज्जाले टाँस्सिएका कारण त्यो किसानले महलाई उठाउन सकेन। अतः ऊ आफ्नो भाग्यलाई सराप्न थाल्यो। पार नलागेपछि ऊ त्यहाँबाट हिँड्यो।
ठीक त्यही समयमा एक हुल माहुरी त्यहाँ आए। महको सुगन्धलाई चिनेर तिनीहरू त्यसमा आएर बसे र त्यसलाई खान थाले। महले तिनीहरूका खुट्टा टाँसिनेछन् भन्ने हेक्का तिनलाई भएन। अघाउन्जेल मह खाइसके। त्यसपश्चात् जब माहुरीहरू उड्न खोजे, तब तिनीहरू उड्न सकेनन्। असमर्थ भएका उनीहरूका खुट्टाहरू र पखेटाहरू महमा मजाले टाँसिएका थिए।
‘हामीहरू कति धेरै मूर्खतापूर्ण काम गर्दा रहेछौं ? क्षणभरको खुसीका लागि हामीले आफ्नो प्राण नै संकटमा हाल्यौं। अब हामीहरूले यहीं नै मृत्युवरण गर्नुपर्नेछ’, माहुरीहरूले एकअर्कालाई भने। केही समयपछि तिनीहरू सबै त्यहीं मरे।
नैतिक शिक्षा : लालच खराब चीज हो। किसान र मौरी दुवै लालचमा डुबे। लोभ गर्दै नगर्नु भन्ने होइन तर कुन कुरामा के र कति लालच गर्ने भन्ने थाहा पाउन सकेन भने सबैको हालत यस्तै हुनेछ।
