काठमाडौं l राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन बिहान खुल्ला गर्ने भएको छ l राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएको थियो l
राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलवारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलवारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।
विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाकाे प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।
प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्नुपर्छ ।

राहदानीको लागि निवेदन कसरी दिने ?
अनिवार्यरुपमा फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । बुकिङ्ग गरेको मिति र समय भन्दा अगाडि आएर सीधै लाइन बसेको आधारमा सेवा उपलब्ध हुने छैन । आफ्नो बुकिङ्गको दिन तोकिएको समयमा मात्र आउनु पर्छ । हरेकआधा घण्टाको बुकिङ्ग हुने, आधा घण्टामाकरिब सय जना सेवाग्राही हुने र हाल विभागमा २२ वटा लाइभ इनरोलमेन्ट अर्थात तस्विर खिच्ने ठाउँ भएकोले धेरै लाइन बस्नै आवश्यक छैन । अहिले यो ब्यवस्था कडाइका साथ लागू गरिएकोले तोकिएको मिति र समयमा मात्र जानुपर्नेछ ।जस्तै, दिउसो ३ बजेको बुकिङ्ग छ तर विहान १० बजे नै विभागमा आएमा अनावश्यक रुपमा पाँच घण्टा बढी पर्खिनु पर्ने हुन्छ ।
सोही दिनको बुकिङ्ग भएका सेवाग्राहीहरूलाई पहिलो प्राथमिकता दिइ विभागले प्रतिदिन राहदानी जारी गर्न सक्ने क्षमताको आधारमा स्वास्थ्य उपचार, सम्बन्धित मुलुकको भिसा र टिकट भएको जस्ता अत्यावश्यक काम र प्रमाणको आधारमा मात्र पछिका बुकिङ्गलार्इ अगाडि ल्याएर अत्यन्त सीमित सेवाग्राहीहरूलाई सेवा उपलब्ध गराउने छ ।
नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला । फाराम भर्नुपूर्व तल उल्लिखित महत्वपूर्ण सूचनाहरू अनिवार्य पढ्रनुहुन अनुरोध छ ।
विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक खोल्नुहोला ।
https://emrtds.nepalpassport.gov.np
