अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार बेनीमा आयोजित कार्यक्रमका वक्ताले पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले म्याग्दीका सम्भावनालाईसमेत उजागर गर्नुपर्ने बताए ।
एक सय १३औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) पोखराको टोली बुधबार म्याग्दीको बेनी आइपुगेको हो ।
जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विगतमा भारतदेखि आएर म्याग्दीका तामाखानीबाट तामा लगेको इतिहास स्मरण गर्दै ती साधनस्रोतको उपयोग गर्नेतर्फ ध्यान नपुगेको बताए । म्याग्दीका छन्त्याल जातिले तामा उत्खननमा विज्ञता हासिल गरेको उनले बताए ।
बहुमूल्य बनस्पतिका लागि पनि म्याग्दी प्रख्यात रहेको उल्लेख गर्दै मुल्मीले अल्लोका साथै जापानी रुपैयाँ बनाउनका लागि प्रयोग गरिने अँगेरे म्याग्दीका विभिन्न स्थानमा पाइने बताए । समाजमा आर्थिक रुपान्तरणका लागि लाग्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आर्थिक क्षमता अभिवृद्धि गर्नेतर्फ उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए ।
टेवानका अध्यक्ष कमला गिरीले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा म्याग्दीको विकास गर्नुपर्ने बताए । पर्यटनलगायतका क्षेत्रमा क्रियाशील महिलाको क्षमता अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उनले उद्यमशीलताका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । म्याग्दी तथा मुस्ताङका व्यवसायी युवा तथा महिलाको क्षमता अभिवृद्धि कार्यक्रमसहित टेवानले यस क्षेत्रमा प्रवद्र्धन कार्यक्रम गर्न लागेको उनले बताए ।
