प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सोमबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने, ‘नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ। यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो।’ उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए।
आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए।
