काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँलाई निःशुल्क उपचार गरेका छन् । उनले विकट क्षेत्रका बिरामीलाई सिनामंगलको के. एम. सी. मा ल्याएर समेत निःशुल्क उपचार गरेका हुन् ।
डा.शर्माको टिमले केही महिना देखि उनी हुम्ला, डोटी, बाजुरा, कालिकोट, मुगु, रोल्पा, पूर्वी रुकुम, डडेलधुरा, अर्घाखाँची, प्युठान जस्ता पश्चिम नेपालका विकट जिल्लाहरूमा पुगेर बिरामीको निःशुल्क उपचार गरिरहेको छ । दुर्गम ठाउँका बिरामीको उपचार सम्भव नभए काठमाडौँको सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा पनि निःशुल्क गरिदिने व्यवस्था मिलाएका छन् ।
डा. शर्माको कामलाई देखेर मन्त्री चन्द्र भण्डारीले समेत खुलेरै तारिफ गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनको खुलेरै तारिफ गरेका हुन् । उनले लेखेका छन्, “कीर्तिकस्य स जीवित ! नमन छ डा. सुनिल शर्मालाई” पोस्टमा थप लेखिएको छ “धनको धनी मात्र भएर नहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दो रहेछ ।
सबैतिर अस्पताल मात्र भएर पनि नहुँदो रहेछ, असहाय विपन्नलाई निःशुल्क उपचार गर्ने चाहना पनि हुनुपर्ने रहेछ । डा. सुनिलकुमार शर्माले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँलाई निःशुल्क उपचार गरेका छन्, गर्दै आइरहेका छन् । विकट क्षेत्रका बिरामीलाई सिनामंगलको के. एम. सी. मा ल्याएर निःशुल्क उपचार पनि गराएका छन् । यसरी नै सबै मेडिकल कलेजहरूले असहाय बिरामीको सेवा गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा एउटा क्रान्ति नै आउने थियो । डा. सुनिल सही अर्थमा परोपकारी, मानवतावादी र धर्म परायण रहेछन् । उहाँको यस कार्यप्रति म हृदय तः कृतज्ञता प्रकट गर्दछु ।”
डा. शर्माले हालसालै गरिएका शिविरको स्मरण गर्ने उनले भने “स्वास्थ्य शिविरमा जाँच गराई थप उपचारका लागि अस्पताल नै जानु पर्ने बिरामीहरूलाई स्थानीय निकाय, जनप्रतिनिधीहरुको सहयोग र समन्वयमा के. एम. सी. ल्याउने व्यवस्था गरिएको छ । के. एम. सी. मा अपरेसन गर्ने देखि अस्पताल सेवाहरू निःशुल्क गरिदिएका छौँ ।” उनले भने “पश्चिम नेपालको दूर दराज गाउँको परिस्थिति हेर्दा ती क्षेत्रहरूमा सरकार साँच्चै नै नपुगेको प्रस्ट देखिन्छ । गाउँ घरमा नै उपचार गर्न पाउँदा धेरैले आँसु झार्दै धन्यवाद दिँदा मेरो मन पटक पटक रोएको छ । उपचारको पर्खाई मा बसेकाहरूले काठमाडौँ आई निःशुल्क उपचार पाउँदा नयाँ जीवन पाएको पक्कै पनि अनुभव गर्नु हुनेछ ।”
डा. सुनिलले राजनीतिक क्षेत्रमा आउनु भन्दा पहिला देखिनै विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट पूर्वी नेपालको विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर लिएर पुग्ने गरेका थिए । आफू र आफ्नो परिवारले जीवनयापनको क्रममा भोगेका आर्थिक अभाव र सङ्घर्षका कारण आम जनताको भोगाई लाई नजिकबाट नियालेका उनले पैसाकै कारण बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मनसायले विपन्न बिरामीहरूको निःशुल्क उपचार पनि गर्दै आएका छन् ।
उनले एम. बि. बि. एस., बि. डी. एस., स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाई जिन, डिप्लोमा फार्मेसी जस्ता विषयहरूमा आर्थिक विपन्न र दलित परिवारका सयौँ विद्यार्थीहरूलाई निःशुल्क अध्ययन पनि गराएका छन् । यसै क्रममा दिनेश हस्दा नेपाल कै पहिलो सतार जातीको एम. बि. बि. एस. गर्ने व्यक्ति बनेका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पछि उनले ५० शैयाको क्याबिन समेत मोरङ क्षेत्र नं. ३ का बिरामीहरूलाई निःशुल्क गरिदिएका छन् । नोबेल शिक्षण अस्पताल र के. एम. सी. शिक्षण अस्पतालमा उनको निर्वाचन क्षेत्रका बिरामीहरूको उपचार विशेष सहुलियतमा हुने गरेको छ भने भोजपुर, तेह्रथुम, इलाम, खोटाङ, ताप्लेजुङ लगायतका पहाडी जिल्लाहरू र झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्लाको विभिन्न स्थानहरूमा भएका निःशुल्क स्वास्थ्य शिविरबाट रिफर भएका बिरामीहरूको विशेष सहुलियतमा उपचार भएको छ ।
