बैतडी । बैतडी जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी जादै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो ।
दुर्घटनामा १ पुरुष, २ महिला र १ नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले बताए। मृतक बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय जयमती बोहराको सनाखत भएको छ भने अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बमले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन् ।
यसैगरी, पुर्चौडी नगरपालिकाकै वडा नं. १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन्।
घाइतेहरुको डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
