काठमाडौं । सुदूरपश्चिम प्रदेश सभा स्थापना भएको आज सात वर्ष पूरा भएको छ। २०७४ साल माघ ७ गते सुदूरपश्चिम प्रदेश सभाको स्थापना भएको थियो।
सुदूरपश्चिम प्रदेश सभा सचिवालय, धनगढीले आज सातौँ स्थापना दिवस मनाउदैछ। प्रदेश सभामा सोमवार दिउँसो चियापान, स्थापना दिवसको अवसरमा कार्यक्रम, दीप प्रज्वलन लगायतका कार्यक्रम गर्दैछ। प्रदेश सभामा औपचारिक कार्यक्रमको आयोजना गरिएको हो। पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल प्रवेश गरेको प्रदेश सभाले नयाँ सदस्य, सभामुख र उपसभामुख तथा संसदीय दलका नेता पाइसकेको छ।
सुदूरपश्चिम प्रदेश सभाले सात वर्षको अवधिमा सरकार सञ्चालन र सेवा प्रवाह गर्ने ६८ वटा कानुन निर्माण गरेको छ। सभाबाट पारित भएका विधेयक पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन्। प्रदेश सभाले २०७५ असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम तथा राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित गरेको थियो। प्रदेश सभा स्थापनाको सात वर्ष हुँदा पनि स्थायी राजधानीको निर्णय कार्यान्वयनमा आएको छैन। प्रदेश सरकारले राजधानी घोषणा गरे पनि हालसम्म भौतिक संरचना निर्माण लगायतका कुनै पनि प्रगति नभएको हो। सङ्घीय सरकारले रुख कटानी तथा जङ्गल क्षेत्रको जग्गा प्रयोगको स्वीकृति नदिएकाले राजधानीको निर्णय कार्यान्वयन भएको छैन।
